खोटाङ, १३ चैत । जिल्लाको पर्यटकीयस्थल मयुङ प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको छ । पर्यटन विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा मयुङ ओझेलमा परेको हो । 
जिल्लाको उत्तरी गाविस फेदीमा पर्ने मयुङमा बाह्रै महिना ढकमक्क फुलिरहने फूल, समथर घाँसे मैदान, प्रयाप्त पानीको स्रोत, जडीबुटीको खानी, विभिन्न ठाउँको दृष्य सजिलै देख्न सकिने ठाउँहरु रहेका छन् । समुन्द्री सतहदेखि करिब तीन हजार मिटर उचाइमा रहेको मयुङबाट सगरमाथा, महालङ्गुर हिमाल, अरुण उपत्यका, मेरापिक, मकालु, सगरमाथा तथा बरुण राष्ट्रिय निकुञ्ज लगायतका दृष्य देख्न सकिन्छ । 
झण्डै तीन हजार रोपनी क्षेत्रफल रहेको मयुङमा डाँफे, मुनाल, कालिज, मलेवा लगायत विभिन्न प्रजातिका चराचुरुङ्गी तथा गिद्धहरु, लोपोन्मुख जनावर रेड पाण्डा, पाटे बाघ, कालो भालु, चितुवा, मृग, घोरल, थार, खरायो लगायतका वन्यजन्तु पाइन्छ । ठूला–ठूला घाँसे मैदान रहेको मयुङमा दर्जनबढी चौरीगोठ, १५० बढी घर पालुवा घोडा चर्ने गरेका छन् भने,  दर्जन बढी गाईगोठ, उत्तिकै संख्यामा भेडीचौक रहेको छ ।
सिजन अनुसार बाह्रै महिना ढकमक्क फूल फुल्ने मयुङमा लाली गुराँस, चिमाल, चाँप, ढाप्ले, हिरिङ्गी लगायत पाइन्छ । दर्जनौं पोखरीहरुको रहेको मयुङमा सयौंको संख्यामा पानी हाँससमेत पाइन्छ । 
हरेक नयाँ वर्षको दिन ठूलो मेला लाग्ने मयुङमा चरणमा रहेका घोडा चढेर विभिन्न ठाउँ डुल्नसमेत पाइन्छ । घोडामा चढेर घोडाटार, साउने डाँडा, जोगीमारा, बतासे, नागी, मात्तिम, भुवान पोखरी, जलजले पोखरी, ढुङ्गाखर्क, नौंलाखर्क लगायतका ठाउँहरु डुल्न सकिने स्थानीय ज्ञानकुमार राईले जानकारी दिनुभयो । “पर्यटनको यत्तिका सम्भावना हुँदाहुँदै पनि मयुङको विकासमा राज्यको ध्यान पुग्न सकेको छैन ।” उहाँले भन्नुभयो, “यसको विकास गर्न सकेमा जिल्लाको मात्र नभइ देशकै आर्थिक विकासमा सघाउ पुग्छ ।”
मेलामा खोटाङको विभिन्न गाविस, छिमेकी जिल्ला भोजपुर, संखुवासभा, सोलुखुम्बु, बिराटनगर, धरान लगायतका वासिन्दा आउने गरेको राईले बताउनुभयो । राईका अनुसार मेलामा आउने कतिपय मानिसहरु चौरी तथा गाईगोठमा वास बस्ने गरेका छन् ।
खोटाङ र भोजपुरको सिमानामा पर्ने मयुङ आसपास अन्य विभिन्न मनोरम दृष्य अवलोकन गर्न सकिने डाँडाहरुसमेत रहेका छन् । मयुङ नजिक रहेका चिलिमढुङ्गा, लौरेथुम, रावाधाप, रमिते लगायत डुल्न र अन्य ठाउँको दृष्य अवलोकन गर्न सकिने ठाउँहरु हुन् ।
बाह्रै महिना हरियाली देख्न सकिने मयुङमा बिखुमा, पाखनभेद, पदमचाल, भैरुङपाती, चिराइतो लगायत बहुमुल्य जडीबुटी पाइन्छ । मयुङमा पाइने जडीबुटी बाहिर जिल्ला तथा अन्यत्र निकासी गर्न सकेमा जिल्लाको आर्थिक उन्नतिमा सघाउ पुग्ने स्थानीय धनकुमार राईले बताउनुभयो ।
चारैतिर घना जङ्गलले घेरिएका मयुङमा पर्यटकका लागि हावापानीसमेत राम्रो रहेको मयुङ आउने पर्यटकहरुले बताएका छन् । मयुङ आउने पर्यटकले त्यहाँ पाइने चौरीको घ्यू, छुर्पी लगायत दूधजन्य पदार्थहरु खरिद गरेर लैजाने गरेका छन् ।   
खोटाङ, भोजपुर र संखुवासभाको सिमानामा पर्ने सालपा पोखरी जाने बाटोमा पर्ने मयुङमा बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । मयुङ आउने पर्यटकका लागि आवश्यक आवासको व्यवस्था गर्न सकेमा ठूलो मात्रामा जिल्लालाई आम्दानी हुने अनुमान गरिएको छ ।
जिल्लाको पर्यटन विकासका लागि १८ औं जिल्ला परिषदले नीति पारित गरेको भएपनि हालसम्म कार्यान्वयन भएको छैन । जिल्लामा मयुङसँगै पर्यटनको सम्भावना बोकेका दर्जनौं स्थलहरु पर्यटन प्रवद्र्धनको पर्खाइमा रहेका छन् ।