खोटाङ, १८ चैत । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सुख्खाग्रस्त सात गाविसमा खानेपानी आयोजना सञ्चालनका लागि सर्वेक्षणको काम सुरु गरिएको छ । जिल्लाकै सबैभन्दा सुख्खाग्रस्त क्षेत्र मानिएको महादेविस्थान, दुर्छिम, च्यास्मिटार, बाहुनीडाँडा, बडहरे, डिकुवा र मङ्गलटार गाविसमा सञ्चालन गर्न लागिएको खानेपानी आयोजनाका लागि सर्वेक्षणको काम सुरु गरिएको हो ।

खानेपानी तथा ढल निकास विभाग सुख्खाग्रस्त क्षेत्र खानेपानी आयोजनाका टोलीले सर्वेक्षणको काम सुरु गरेको महादेविस्थान खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो । “सुख्खाग्रस्त क्षेत्रमा पर्ने सात गाविसका करिब २० हजार उपभोक्तालाई लक्षित गरेर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको छ ।” उहाँले भन्नुभयो, “यसका लागि सर्वेक्षण टोलीले डिटेल सर्भेको काम सुरु गरेको हो ।”

सर्वेक्षण टोलीले स्थलगत अध्ययन गरेर तयार पारेको प्रतिवेदन विभागमा पेश गरेपछि आयोजनाको काम सुरु हुने खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो । “सन् २०१७ सम्ममा सबैको घरमा पानीको व्यवस्था गर्ने सरकारको योजना नै छ ।” उहाँले भन्नुभयो, “त्यसैले यस क्षेत्रमा पनि सम्भवतः यसै वर्षबाट खानेपानी आयोजना सञ्चालन हुन्छ ।”

सुख्खाग्रस्त सात गाविसका लागि लक्षित गरेर सर्वेक्षणको काम सुरु गरिएको खानेपानी आयोजनाका लागि अहिलेसम्म मुहानको भने, टुङ्गो नलागेको अध्यक्ष राईले जानकारी दिनुभयो । “पाथेकाबाट पाइप लाईन विस्तार गरेर ल्याउने कि, कोसीबाट पम्पिङ प्रविधि अपनाएर ल्याउने भन्नेबारे छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो, “पाथेकाबाट ल्याउँदा नै उपयुक्त हुने ठहर सबैले गरेका छन् ।”

वर्षैंदेखि पानीको अभाव खेतीरहेका स्थानीय उपभोक्ता खानेपानी आयोजना सञ्चालनका लागि सर्वेक्षणको काम थालिएपछि स्थानीय उपभोक्ता हर्षित भएका छन् । नजिकमा धारा तथा कुवाको अभावमा सुख्खाग्रस्त क्षेत्र सात गाविसका स्थानीय घरको छानाबाट सङ्कलन भएको पानी उपभोग गर्न बाध्य छन् ।

घरको छानामा पाइप जडान गरेर ट्याङ्कीमा सङ्कलन गरिने र सङ्कलन भएको पानी उपभोग गर्ने गरिएको स्थानीय चक्र राईले बताउनुभयो । नजिकै पानीको श्रोत नभएकाले वैकल्पिक उपाय अपनाएर खानेपानीको व्यवस्था गर्ने गरिएको राईको भनाइ छ ।

उनीहरु वर्षाभरी घरको छानोमा पाइप जडान गरेर ट्याङकीमा पानी सङ्कलन गर्ने गर्छन् । ट्याङ्कीमा सङ्कलन भएको पानी पिउने, लुगा धुने, नुहाउने र गाईभैंसीलाई दिने गरिएको स्थानीयले बताएका छन् ।