खोटाङ, १ वैशाख । मध्यपहाडि लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक खण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङ्गे रहेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार खोटाङका १५, उदयपुरका ७, सोलुखुम्बुका २ र बारा जिल्लाका एक जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा खोटाङ डिकुवा–६ का ३८ वर्षीय मेजर राई, खार्मी–५ की ५० वर्षीया मीत्रकुमारी राई, च्यास्मिटार–८ का २४ वर्षीय सुरेन्द्र राई, बाकाचोल–४ की २२ वर्षीया ममिता राई, राखाबाङ्देल–४ की २४ वर्षीया सुष्मा राई, दिक्तेल नगरपालिका–१४ का १८ वर्षीय सन्तोष कटवाल, बाक्सिला–७ का २६ वर्षीय प्रदिप राई, च्यास्मिटार–३  का १८ वर्षीय रविन राई, सोहि स्थानका ४८ वर्षीय खम्बशेर राई, दिप्सुङ–९ का ४७ वर्षीय गोविन्द तिम्सिना, खार्ताम्छा–८ का २३ वर्षीय सइकुमार राई, राखावाङ्देल–९ की ३२ वर्षीया लक्ष्मी राई, याम्खा–७ का ६० वर्षीय भैरव राई र निर्मलीडाँडा–३ की ३५ वर्षीया विमला राईको सनाखत भएको छ । यस्तै, खोटाङको बाकाचोल–४ माइत भइ सोलुखुम्बु जिल्लाको सोताङ घर भएकी २८ वर्षीया दिलकुमारी राई, उदयपुरको थानागाउँ–१ का ५१ वर्षीय नीरबहादुर कार्की, बाँसबोटे–३ का १८ वर्षीय युवराज राई, रुपाटार–३ का १८ वर्षीय भाजुनारायण श्रेष्ठ, थानागाउँ–२ का २५ वर्षीय मनोज सुनुवार, सोहि स्थानका ३५ वर्षीय होमबहादुर सुनुवार, ताम्लिछा–५ की ३० वर्षीया शान्ताकुमारी राई, उनको २ ½ वर्षीय छोरा ओमश्री राई, .सोलु पञ्चन–१ का २२ वर्षीय सोम सुन्दास र बस चालक बारा निजगढका ३८ वर्षीय अर्जुन उप्रेती रहेका छन् ।

मृतकको शव जिल्ला अस्पतालमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । मृतकको शव गाउँसम्म पु¥याउनका लागि यातायात व्यवसायी सङ्घ खोटाङले टयाक्टरको व्यवस्था गरीदिएको छ ।

दिक्तेलबाट बिहान पाँच बजे काठमाडौं हिँडेको बा २ ख ६३७६ नम्बरको बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर प्रकृतिका २३ जनालाई तत्कालै नेपाली सेनाको हेलीकोप्टर मार्फत काठमाडौं लगिएको छ ।

अन्य आठ जनाको जिल्लास्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको आफन्तहरुले बताएका छन् । उनीहरुको अवस्था सामान्य बन्दै गएको जनाइएको छ ।