निर्मलीडाँडाका स्थानीयले सडकमा मुढा र काठका ठुटा तेस्र्याएर सडक बन्द गराएको महेन्द्रोद्धय निमाबि निर्मलीडाँडाका प्रअ शंकर खत्रीले बताउनुभयो । मृतकको शव बुझ्नेक्रममा मृतकको साथमा रहेको गरगहना, नगद र सरसामान नपाएकोमा समेत आफन्त आक्रोशित छन् । सडक बन्द गराएका कारण दिक्तेलबाट चखेवा जाने र चखेवाबाट दिक्तेल आउने यात्रु समस्यमा परेका छन् । सडक बन्दका कारण दिक्तेलबाट भोजपुरतर्फ जाने यात्रु बढि मारमा परेका छन् ।
मृतकका आफन्तले क्षमताभन्दा बढि यात्रु नराख्न समेत माग गरेका छन् । आफ्नो मागका बिषयमा राजनैतिक दलका स्थानीय नेताको समर्थन प्राप्त रहेको बन्दकर्ताको भनाई छ । मृतकका आफन्तले खोटाङ यातायात व्यवसायीको गाडीलाई मात्र रोक लगाइएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक विद्यानन्द माझीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन सहजीकरणकालागि प्रहरी निरिक्षक सरोज राईको नेतृत्वमा प्रहरी निर्मलीडाँडा पुगेको छ । मंगलबार महादेबस्थान–१ बर्खेटारमा बस पल्टिँदा २४ जनाको मृत्यु भएको थियो ।