खोटाङ, बैसाख ४ । उदयपुरको त्रियुगा नगरपालिकामा हुने सगरमाथा अञ्चल प्रथम आमन्त्रित अन्तर नगरपालिका स्तरिय सितोरियो कराते प्रतियोगीतामा प्रतिष्पर्धा गर्ने खेलाडी छनौट गरिएको छ ।

‘खेलकुद राष्ट्रको शान त्रियुगा नगरीको पहिचान’ भन्ने नाराका साथ बैसाख १० र ११ गते गाईघाटमा हुने प्रतियोगीतामा प्रतिष्पर्धा गर्नकालागि दिक्तेल नगरपालिकाबाट सामेल हुने ५ खेलाडी छनौट गरिएको हो ।

दिक्तेलको माटिकोरेस्थित कबर्डहलमा आयोजित छनौट खेलबाट पुरुषतर्फ ४५ केजी समूहमा रोशन गुरुङ, ५० केजी समूहमा अर्जुन श्रेष्ठ, ५५ केजी समूहमा नविन राई र एकल कातातर्फ नविन राई छनौट भएका छन् । त्यसैगरी, महिलातर्फ ४५ केजी तौल समूहमा रोष्मा राई, ५० केजी तौल समूहमा विद्याकला राई र एकल कातातर्फ रोष्मा राई छनौट भएको नेपाल सितोरियो कराते संघ खोटाङका उपाध्यक्ष मिलन कसजुले बताए । सगरमाथा अञ्चल संयोजक तथा खोटाङका प्रमुख प्रशिक्षक विचारी तामाङ र नेपाल सितोरियो कराते संघका जिल्ला अध्यक्ष सन्जयकुमार राईको सहभागितामा खेलाडी छनौट गरिएको हो ।

७ स्वर्ण पदककोलागि प्रतिस्पर्धा हुने प्रतियोगितामा सगरमाथा अञ्चलभित्रका दिक्तेल नगरपालिका, दुधकुण्ड नगरपालिका सोलुखुम्वु, सिद्धिचरण नगरपालिका ओखलढुंगा, गोलवजार नगरपालिका सिराहा, लाहान नगरपालिका सिराहा, राजविराज नगरपालिका सप्तरी, फत्तेपुर नगरपालिका सप्तरी, वेल्टार वसाहा नगरपालिका उदयपुर, कटारी नगरपालिका उदयपुर र त्रियुगा नगरपालिका उदयपुर गरी १० नगरपालिकाको सहभागिता रहने जनाइएको छ ।