खोटाङ, ५ बैसाख । खोटाङमा छ दिनअघि भएको बस दुर्घटनाको विषयमा सत्यतथ्य पत्ता लगाउन छानबीन समिति गठन गरिएको छ । गत मंगलबार बिहान महादेबस्थान–१ बर्खेटारमा २५ जनाको ज्यान जानेगरी भएको बस दुर्घट्नाको विषयमा छानबीन गर्नकालागि आईतबार सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको संयोजकत्वमा ७ सदस्यीय छानबीन समिति गठन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा पिडित सहितको सर्वदलीयसर्वपक्षीय बैठकले नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगको इन्स्पेक्टर, जिल्ला प्राबिधिक कार्यालयका ईन्जिनियर, नेपाल पत्रकार महासंघका प्रतिनिधि र पिडितकातर्फबाट मिलनचन्द्र राई सदस्य रहेको छानबीन समिति बनाएको हो । समितिले ढिलोमा महिना दिनभित्र बस दुर्घट्नाको कारण र सुझावसहितको प्रतिबेदन पेश गर्ने जनाएको छ ।

बैठकमा यातायात व्यवसायीले मृतक परिवारलाई प्रतिव्यक्ती एक लाखका दरले बीमावापतको रकम उपलव्ध गराउने, घाईतेको उपचार खर्च यातायात व्यवसायीले बेहोर्ने, मृतक तथा घाईतेको सरसामान, नगद तथा जिन्सी सामान आफन्तलाई बुझाउने, हराएका सामान खोजी गर्ने लगायतका सहमती भएको छ । बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाईतेको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।

मंगलबार बिहान सदरमुकाम दिक्तेलबाट यात्रु लिएर काठ्माण्डौं जाँदैगरेको बा २ ख ६३७६ नम्बरको बस महादेबस्थान–१ बर्खेटारमा दुर्घट्ना हुँदा २४ जनाको घट्नास्थलमै र एक जनाको उपचारकोक्रममा मृत्यु भएको थियो । घट्नामा ३१ जना घाईते भएका थिए । घाईतेको टिचिङ, ग्रिनसिटी, बिएण्डबी, बीर र छाउनीमा उपचार भइरहेको छ । सामान्य घाईते भएका ८ जनाको भने स्वास्थ्यचौकी हलेसीमा उपचार गरिएको छ ।