खोटाङ, १४ बैसाख । कतिपय युवालाई बिदेशमा श्रम गरेर कमाएको पैसा अनुत्पादक काममै सक्ने गरेको आरोप लाग्ने गरेको छ । कमाएको पैसाको सदुपयोग नहुँदा स्वदेश फर्किएको केही समयपछि नै पैसा सकिएर रित्तो बनेको उदाहरणहरु पनि प्रशस्त छन् । त्यही भएर बिदेशको आम्दानी र अनुभवलाई सदुपयोग गर्दै स्वदेश फर्किएपछि पनि स्वरोजगारको वाताबरण सिर्जना गर्न खोटाङका युवाले राजधानी काठ्माण्डौंमा संयुक्तरुपमा महानगर सुपरमार्केट सुरु गरेका छन् ।
बैदेसिक रोजगारीका सिलसिलामा कतार, दुबई, बहराइन, हङकङ लगायतका देशमा कार्यरत ३० युवाले काठ्माण्डौंको सुबिधानगर, तीनकुनेमा ३ करोडको लगानीमा आधुनिक सुपरमार्केट सञ्चालनमा ल्याएका हुन् । प्रबासमा बस्दाबस्दै यसअघि नै राजधानीमा महानगर सहकारी खोल्न लगानी गरेकामध्ये खोटाङ र अन्य जिल्लाका युवाको लगानीमा नयाँ वर्षको अवशरमा महानगर नामकै सुपरमार्केट सुरु गरिएको हो । विदेशमा कमाएको पैसा र सीपलाई स्वदेश फर्किएर सदुपयोग गर्न र आफ्नो कमाईलाई व्यवस्थित गर्न सुपरमार्केट सुरु गरिएको सुपरमार्केटका मेनेजर निर्बाचन राईले बताए ।
सुपरमार्केटमा दाल, चामल, तरकारी, फलफुल लगायतका खाद्य तथा दैनिक उपभोग्यवस्तु बाहेक पेय पदार्थ लगायतका सामग्री राखिएको छ । बिक्री गरिने थोकबस्तुमा नाफाको अनुपात अन्यमाभन्दा कम राखिएको सुपरमार्केट ब्यबस्थापन पक्षले जनाएको छ । प्रबासमा पसिना बगाएर जम्मा भएको पैसालाई सदुपयोग गर्दै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरिय सामान दिने उद्देश्यले सुपरमार्केट सुरु गरिएको मेनेजर राई बताउँछन् ।
सुपर मार्केटमा बिदेशमै काम गरिरहेका र स्वदेश फर्किएका युवाको लगानी रहेको छ, भने सुपरमार्केटमा बिदेशबाट फर्किएका युवाले नै रोजगार पाएका छन् । सुपरमार्केटका मेनेजर राई स्वयं १६ वर्षसम्म दुबई, कतार लगायतका ठाउँमा काम गरेर फर्किएका हुन् । उनीसँग बिश्वकै उत्कृष्ट कम्पनीमा मेनेजर रहेर काम गरेको अनुभव छ । ‘विदेशमा कमाएको पैसा र अनुभवलाई सदुपयोग गर्दै स्वदेश आएपछि आफै स्वरोजगार बन्न सुपरमार्केट सुरु गरिएको हो,’ मेनेजर राईले भने, ‘यो वैदेसिक रोजगारबाट भएको कमाइलाई व्यवस्थित गराउने एउटा अभियान पनि हो ।’ अन्य प्रतिस्पर्धी सुपरमार्केट भन्दा ५ देखि २५ प्रतिशतसम्म कम मूल्यमा थोकबस्तु उपलब्ध गराउँदै आएको उनले जनाए ।
सुपरमार्केटमा स्वयं मेनेजर रहेका खोटाङका निरबचन, रमेश भट्टराई, नरेन्द्र खनाल, बेदप्रसाद भट्टराई, प्रकाश गुरुङ, मुगा पुरी, लालबहादुर घिमिरे, रमेश घिमिरे, कैलाश श्रेष्ठ, तिलाबहादुर खत्री, एकराज राई, किशोर भट्टराई लगायतको लगानी रहेको छ । सुपरमार्केट लगानीमा उनीहरुलाई मन मिल्ने अन्य भाृजपुर, ते¥हथुम, संखुवासभा, नवलपरासी लगाउतका जिल्लाका युवाको साथ रहेको छ । सुपरमार्केटले बिभिन्न किसिमका तरकारी लगायत खाद्य बाली आफै उत्पादन गरेर बिक्री वितरण गर्ने लक्ष्य राखेको छ । सुपरमार्केटको तल्लो तलामा खाद्यान्न, सागसब्जी, पेयपदार्थ राखिएको छ । माथिल्लो तलामा फेसन, बिद्युतीय, भाँडाकुँडा लगायतका सामग्रीको बिक्री कक्ष राख्ने तयारी भइरहेको छ ।
कतार लगायतका देशमा कार्यरत युवाले ५ वर्ष पहिले काठ्माण्डौंमा सुरु गरेको महानगर सहकारी संस्थामा आवद्ध ३० युवाले संयुक्तरुपमा सुपरमार्केट खोलेका हुन् । ७ बर्ष पहिले कतारमा कार्यरत ५ युवाले घर पठाएपछि बाँकी रहेको रकमलाई बचत गर्नकालागि सामुहिक बचत कोष सुरु गरेका थिए । त्यसैको निरन्तरतामा स्थापना भएको महानगर सहकारीको सफलतापनि उनीहरु सुपरमार्केटमा लगानी गर्न अघि सरेका हुन् । स्वदेश फर्किएपछि बेरोजगार बन्न नपरोस् भन्नकैलागि उनीहरुले सुपरमार्केट अघि सहकारी खोलेका थिए । १८ बढिको लगानीमा सुरु गरिएको सहकारीमा हाल सयभन्दा बढि शेयर सदस्य पुगेका छन् ।
प्रबासको कमाईबाट तीनकुने काठ्माण्डौंमा सुरु गरिएको सुपरमार्केटको केहि झलक । तस्बिरः रुद्र शर्मा