खोटाङ, बैसाख २१– बोल्न मिल्दैन । दिल खुस हुँदा हाँस्न पनि मिल्दैन । बाँच्नकालागि खाइने गाँस चपाउन उत्तिकै अप्ठ्यारो छ । समस्या कति पिडादायी होला ? यही पिडाबाट ग्रसित छिन् खोटाङको बाँझेच्याडाँडा–८ की १४ वर्षीय किशोरी रेबिका राई । माथिल्लो दाँत अडिने हाडको ट्यूमरले बढेर ठूलो आकार लिएपछि रेबिकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् । तीन पटकसम्म अप्रेसन गर्दापनि रेबिकाको ट्यूमर ठीक नभएपछि परिवारमा चिन्ता थपिएको बाबु कासीनाथ राईले बताउनुभयो । बढ्दै गएको ट्यूमरले अहिले रेबिकाको मुख भरिएको छ । सकसकासाथ बोल्न मिलेपनि हाँस्न मिल्दैन । खानाको गाँस सकसकासाथ मुखभित्र छिराउनु पर्छ । ‘अलि अलि बोल्न मिल्छ, तर हाँस्न मिल्दैन,’ बाबु कासीनाथले भने, ‘खाना पनि ट्यूमर मुनिबाट छिराएर खानुपर्ने अवस्था छ ।’

शुभेच्छुकसँग मुखको ट्यूमरबाट ग्रसित रेबिका राई । तस्बिरः श्रवण बम्जनको फेसबुक

रेबिका हाल आमाबाबु सँगै बुढानिलकण्ठ काड्माण्डौंमा बस्छिन् । बुवा कासीनाथ रोजगारीका सिलसिलामा २६ वर्षअघि नै काठ्माण्डौं बस्न थालेका हुन् । काठ्माण्डौं बसाइकैक्रममा बिवाह गरेका उनका दुई छोरी र एक छोरा छन् । रेबीका घरकी कान्छी छोरी हुन् । रेबिका हाल बुढानिलकण्ठ हाइस्कुलमा पढ्छिन् । रोगकै कारण उनी यसपल्टको एसएलसि दिनबाट समेत बञ्चित भइन् ।


५ वर्षको छँदै रेबिकालाई ट्यूमर भएको पत्ता लागेको हो । नुहाएपछि मावली हजुरमाले शरीरमा तेल घस्नेक्रममा पहिलोपल्ट उनको शरीरमा भएको ट्यूमर फेला परेको हो । ‘अनुहारमा तेल घस्नेक्रममा सानो गेडो भेटिएको थियो,’ कासीनाथले भने, ‘पछि त्यही गाँठो बढ्दै डरलाग्दो आकार लिएको हो ।’ समस्या पत्तो लागेपछि रेबिकाको उपचारमा राई परिवारले राजधानीका बिभिन्न अस्पताल चाहारे । उनको उपचारकाक्रममा तीन पटक अप्रेसन गरिसकिएको छ । बढ्दो ट्यूमरले उनको सुन्दरता नै बिगारेको छ । फैलिएको ट्यूमरलाई थोरै ठक्कर परेपनि रगत बग्ने समस्या छ ।

रेबिकाको पहिलो अप्रेशन ५ वर्षकै उमेरमा गरिएको हो । त्यस यता दुई÷दुई वर्षको फरकमा अप्रेशन गरेर ट्यूमर खुर्केर निकालिएको थियो । पछिल्लो अप्रेसन बाहिरैबाट प्वाल पारेर ट्यूमर निकालिएको कासीनाथ बताउँछन् । अप्रेसन गरेको केही वर्षसम्म रोग निको भएपनि पुःन बल्झिने गरेको छ । दैनिक मजदुरी काम गरेर परिवार धान्दैआएका उनले छोरीको उपचारमा हालसम्म १६ लाखभन्दा बढि रकम खर्च गरिसकेका छन् । काठ्माण्डौं बसाइकाक्रममा सेक्यूरिटी गार्ड, ज्यामी लगायतका काम गरेर जोगाएको पैसा उपचारमै सकिएको छ । त्यसले नपुगेर ऋणको भार समेत थपिएको उहाँले बताउनुभयो ।

यसपल्ट रेबिकाको ट्यूमरको उपचार गर्न भारतको कलकत्ता लैजाने तयारी गरिएको छ । आउँदो बैसाख–२३ गते बिहिबार कलकत्ता जानकालागि हवाइजहाजको टिकट व्यवस्था गरिसकिएको कासीनाथले बताउनुभयो । शुभेच्छुककै साथसहयोगमा उनी छोरी लिएर भारत जान लागेका हुन् । ‘कलकत्तामा लैजाँदा ठीक हुन्छ भनेको छ,’ उहाँले भन्नुभयो, ‘अस्पतालले सुरुमै तीन लाख डिपोजिट चाहिन्छ भनेको छ ।’ चौथो पटकको अप्रेसन गर्न, दाँत राख्न, प्लाष्टिक सर्जरी गर्दा लाग्ने हिसावकितावको टुंगो छैन । अस्पतालमा लाग्ने रकम बुझाउन निम्नआर्थिक स्तर भएका राई परिवारको बर्कतले मात्र सम्भव छैन । त्यही भएर छोरीको उपचारकालागि राई परिवारले शुभेच्छुक समक्ष सहयोगको याचना गरेका छन् ।