अलैंचीमा रोग लागेका कारण बगानै सुक्न थालेपछि उत्पादनमासमेत गिरावट आएको बाक्सिला–३ सिप्तेलीका युवा कृषक जीवन सुनुवारले बताउनुभयो । “कुनै बेला यही बगानबाट ४६ मनसम्म बिक्री गरेका थियौं ।” रोगले सुकेको बगान देखाउदै उहाँले भन्नुभयो, “केही वर्षदेखि प्रकोपकै रुपमा फैलिएको रोगका कारण घट्दै गएर यस वर्ष छ मन मात्र बिक्री गरियो ।”
खेतबारी मासेर करिब ७० रोपनी क्षेत्रफलमा अलैंचीको व्यवसायिक खेती गर्नुभएका सुनुवार पछिल्लो समय अलैंचीमा रोगको प्रकोप फैलिएपछि निराश बनेका छन् । “जागिर छाडेर अलैंचीको व्यवसायिक खेती सुरु गरियो ।” उहाँले भन्नुभयो, “अहिले बगानै सुक्न थालेपछि के गर्ने भन्ने अन्यौलमा परेको छु ।”
युवा कृषक जीवनले नेपाली सेनाको जागिर छाडेर अलैंचीको व्यवसायिक खेती सुरु गर्नुभएको हो । “सुरुमा त जागिर छाडेर राम्रै गरे जस्तो लाग्थ्यो ।” रासससँग कुरा गर्दै जीवनले भन्नुभयो, “अहिले आएर रोगको प्रकोपले अलैंचीको बगानै सुकेपछि टुलुटुलु हेर्नु बाहेक अन्य कुनै विकल्प छैन ।”
जीवनकोसँगै बाक्सिलाका रत्नबहादुर सुनुवार, वीरबहादुर सुनुवार, मनीराज सुनुवार, सुलभ राई लगायत दर्जन बढी कृषकको अलैंची सुक्दै गएको छ । अलैंचीमा फैलिएको रोगका बारेमा जिल्ला कृषि विकास कार्यालय खोटाङलाई निरीक्षण गरिदिन पटक–पटक अनुरोध गर्दासमेत चासो नदिएको कृषकहरुको गुनासो छ ।
सिक्तेलीमा २०६५ सालदेखि फाट्टफुट्ट अलैंचीको बोट मर्न थालेको स्थानीय समिर राईले जानकारी दिनुभयो । त्यसबेला किसानलाई त्यसको वास्ता भएन । तर, २०६७ सालदेखि अलैंचीको पूरै बोट मर्न थालेको हो ।
आफ्नो बगानको अलैंची सुक्न थालेपछि बिरुवा माग्दासमेत कृषि विकास कार्यालयले उपलब्ध नगराएको अर्का कृषक सुलभ राईले बताउनुभयो । “अलैंची नभएपछि त्यो ठाउँमा न गहुँ छर्नु न धान रोप्नु ।” उहाँले भन्नुभयो, “बगानमा आएर प्राविधिकले हेर्दिनुप¥यो, अलैंची हुँदैन भने हुँदैन भन्दिनुप¥यो ।”
बाक्सिला एरियामा लगाइएको रामशाही जातको अलैंचीमा रोगको प्रकोप देखिएको जनाइएको छ । जीवनको बगानबाट बिस्तार गरिएको अलैंचीमा रोग देखिएको स्थानीयले जनाएका छन् ।
पछिल्लो समय जिल्लाका सबै ठाउँमा लगाइएको अलैंचीमा समस्य देखिएको अलैंची व्यवसायी सङ्घ खोटाङका अध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । डढुवा, फुर्के, गबारो र गानो कुहिने समस्याका कारण सबै ठाउँका अलैंचीको बगाननै सुक्ने समस्या देखिन थालेको तामाङको भनाइ छ ।