खोटाङ, बैसाख २२। स्थानीय निकायको निर्वाचनको तयारीमा खम्बूवान राष्ट्रिय मोर्चाले खोटाङमा ‘खम्बूवान राजनैतिक राष्ट्रिय जागरण अभियान’ थालेको छ । स्थानीय एबं प्रदेश निर्वाचनमा आफ्नो स्थान सुरक्षित गर्ने आधार तयार गर्न मोर्चाले जिल्लामा जागरण अभियान थालेको जनाएको छ ।

जनमत आफ्नोपक्षमा पार्न गाउँ–गाउँमा पुगेर जनतालाई भेटगरी स्थानीय निकायमा पार्टीको उपस्थिति बलियो बनाउन अभियान थालिएको मोर्चाका केन्द्रीय सचिव भूपी कोयीले बताए । ‘मुलुकमा छिट्टै स्थानीय निकाय र प्रदेशको निर्वाचन हुन्छ,’ मोर्चाको संगठन एबं सञ्चार बिभागका प्रमुख रहेका कोयीले भने, ‘अहिल्यै अभियान नचलाइए पछि जनमत प्राप्त गर्न गा¥हो हुन्छ ।’

अभियानकाक्रममा कार्यकर्तालाई प्रशिक्षण, जनतासँग भेटघाट, छलफल, अन्तरक्रीया, अनुशिक्षण लगायतका कार्यक्रम सञ्चालन सुरु गरिएको मोर्चाले जनाएको छ । सुंदेल, बाक्सिलामा जागरण अभियान चलाइसकेको मोर्चाले सोमबार जालपामा कार्यक्रम गरेको मोर्चाका जिल्ला अध्यक्ष तुलसी तिलुङ खम्बूले जानकारी दिए ।

मोर्चाले उदयपुर, इलाम, धनकुटा, पाँचथर, मोरङमा समेत जागरण अभियान चलाइएको जानकारी दिएको छ । जेठभरीमा प्रस्ताबित खम्बुवान क्षेत्रका गाउँ–गाउँमा जागरण अभियान पु¥याउने मोर्चाका केन्द्रीय सदस्य एबं उदयपुर अध्यक्ष राजेन्द्र खम्बू ‘अनमिन’ले बताए ।