खोटाङ, ३१ बैसाख  । एकीकृत नेकपा माओबादीका पोलिटव्यूरो सदस्य झक्कुप्रसाद सुबेदीले ‘सरकारलाई सच्याउन माओबादीले नेतृत्व परिवर्तनको कुरा उठाएको’ बताएका छन् । खोटाङ सदरमुकाम दिक्तेलमा एमाओबादी जिल्ला कमिटि तथा जिल्ला परिषद कमिटिका नेता तथा कार्यकर्तालाई राजनैतिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिनेक्रममा पोलिटव्यूरो सदस्य सुबेदीले वर्तमान सरकारबाट जनअपेक्षित काम हुन नसकेपछि खबरदारी स्वरुप नेतृत्व परिवर्तनको विषय उठाउनु परेको दाबी गरे ।
 ‘एमाले र एमाओबादी नेतृत्वमा संयुक्त सरकार बन्यो, तर अपेक्षित प्रगती गर्न सकिएन,’ सुबेदीले भने, ‘एमालेलाई हामी पनि तिम्रो ठाउँमा आउन सक्छौँ भनेका हौँ, हामीले साँच्चकै सत्ता परिवर्तनको कुरा गरेको होइन ।’ उनले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएकाको छानबीन आयोग क्रियासिल भइरहेको समयमा कार्यकर्ता र पार्टीको हितमा एमालेसँग ९ बुँदे सहमती गर्नुपरेको स्पष्ट पारे । 
सुबेदीले स्थानीय निकायको निर्वाचनको तयारीमा आत्मगतरुपमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । कार्यकर्ता रुपान्तरण भएमात्र पार्टी रुपान्तरण हुने भएकाले स्वरुपान्तरणमा जोड दिए । ‘अव अरुलाई दोष लगाएर मात्र हुँदैन, अरु सुघ्रिएन भनेर मात्र हुँदैन,’ उनले भने, ‘अव पहिला आफै स्वरुपान्तरण हुन जरुरी छ ।’ उनले जेठ दोश्रो हप्ताभित्र क्रान्तीकारी शक्तीबीचमा एकता हुने बताए । संबिधानले दिएको अधिकारलाई कार्यन्वयनमा स्वयं उत्पिडित, पिछडिएका बर्ग लाग्नुपर्ने उनको सुझाव थियो । उनले आगामी महाधिबेसनले १० वर्षभित्र समाजबादी क्रान्तीको सपना पूरा गर्न रणनिती तयार पार्ने जानकारी दिए । 
प्रशिक्षणमा एमाओबादी जिल्ला कमिटि, जिल्ला परिषद, गाउँ र वडा कमिटिका नेता तथा कार्यकर्ताको सहभागीता रहेको एमाओबादी जिल्ला सचिव दुर्गाजयन्ती राईले जानकारी दिइन् ।