खोटाङ, जेठ १ । खोटाङबाट अदृश्य गोरेटो साहित्यीक पत्रिका प्रकाशन सुरु गरिएको छ । प्रायः जिल्लाका साहित्यीक पत्रिकाहरु बन्द रहेको अवस्थामा जिल्लाका श्रष्टाहरुले अदृश्य गोरेटो मासिक पत्रिका प्रकाशनमा ल्याएका हुन् ।

अध्ययनका सिलसिलामा सुकुना बहुमुखी क्याम्पस मोरङमा पुगेका खोटाङका विद्यार्थी श्रष्टाले ९ वर्षअघि प्रकाशनमा ल्याएको अदृश्य गोरेटोलाई जिल्लाबाटै प्रकाशन सुरु गरिएको हो । यसअघि बिना दर्ता प्रकाशन हुँदैआएको साहित्यीक पत्रिकालाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर प्रकाशनमा ल्याइएको प्रधान सम्पाकद अकेला यात्रीले बताए । मोरङमा ४ पेजमा प्रकाशन हुँदैआएको पत्रिकालाई ४० पेजको बनाइएको छ । पत्रिका मासिकरुपमा प्रकाशनमा ल्याइने छ ।

साहित्यीक पत्रिका शनिबार दिक्तेलस्थित जिबिसको हलमा कबिता, गजल, मुक्तक लगायतका सिर्जना सुन्दैसुनाउँदै बिमोचन गरिएको छ । जिल्लाका साहित्यकार बिष्णु आभूषण, अनिल किराती, शरण खत्री मृदुल, कोपीला थुलुङ आशुतोष र प्रधानसम्पादक यात्रीले संयुक्तरुपमा पत्रिका बिमोचन गरेका हुन् । प्रकाशनमा रहेका साहित्यीक पत्रिका बन्द रहेको अवस्थामा अदृश्या गोरेटोलाई प्रकाशनमा ल्याइएको हो ।
पत्रिका बिमोचन कार्यक्रममा जिल्लाका चर्चित २४ श्रष्टाले कबिता, गजल लगायत बाचन गरेर सुनाएका थिए ।