खोटाङ, जेठ २१ । तीन दिनसम्म सञ्चालन हुने ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’का कारण खोटाङ खेलकुदमय बनेको छ । नेपाल सितोरियो कराते संघको खोटाङको आयोजनामा बिहिबारदेखि शनिबारसम्म सञ्चालन हुने प्रतियोगीताका कारण सदरमुकाम खेलकुदमय बनेको हो । तीन वर्षभन्दा बढि समयको तयारीपछि हुन लागेको ऐतिहाँसिक प्रतियोगीताका लागि भारत, भूटान, नेपाली सेना, शसस्त्र प्रहरी, पाँच बिकास क्षेत्र, बिश्वबिद्यालय र गोजोरियोको टिम दिक्तेल आइपुगेका छन् । सदरमुकाम दिक्तेलको माटिकोरेस्थित खेलमैदानमा सञ्चालन गरिने प्रतियोगीतामा आयोजक सहित १२ टिमले प्रतिष्पर्धा गर्ने आयोजक नेपाल सितोरियो कराते संघको खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । 

बंगलादेश र श्रीलंकाले अन्तिम समयमा सहभागीता जनाउन नसक्ने जानकारी दिएको आयोजकले जनाएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघले चन्दा उठाएरै प्रतियोगताको आयोजना गरेको हो । भौगोलिक, आर्थिक लगायतका हिसावले दिक्तेलमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगीता सञ्चालन चूनौतीपूर्ण भएपनि खेलकुदको प्रबद्र्धनकालागि आयोजकले हिम्मत गरेको हो । प्रतियोगीता केही समयपछि सांसद सरस्वती बजीमयले उदघाटन गर्ने कार्यक्रम छ । देशका सितोरियोतर्फका अधिकांश खेलाडीको उपस्थिति रहेका कारण जिल्लाबासीले प्रतियोगीतालाई महत्वकासाथ लिएका छन् । प्रतियोगीता सुरु हुनुपर्व नै प्रतियोगीता स्थल दर्शकले घेरिएका छन् ।

प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ट टिम कोच, उत्कृष्ट निर्णायक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई ५÷५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए ।

प्रतियोगिता सञ्चालन गर्नका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । गत वर्ष सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, नाकान्दी र आर्थिक समस्या लगायतका कारण निर्धारित मितिभन्दा पछि सरेको हो ।

७८ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल काता र महिला एकल काता तथा पुरुष टिम काता र महिला टिम कातामा तीन÷तीन जनाको समूह रहने आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने संघका उपाध्यक्ष मिलन कसजुले जानकारी दिए । 

‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को प्रतियोगीता स्थल ।

‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ उदघाटन अघि
दिक्तेलमा निकालिएको र्‍यालीमा सहभागी भारत, भूटान सहित बिभागीय टिमका
खेलाडीहरु । प्रतियोगीता केहीबेरमा सांसद सरस्वती बजीयमयले उदघाटन गर्ने
कार्यक्रम छ ।
खोटाङ सदरमुकाम दिक्तेलमा बिहिबारदेखि तीन दिनसम्म सञ्चालन हुन लागेको
‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को उदघाटन
कार्यक्रममा सहभागी छात्र/छात्रा ।