खोटाङ २६ जेठ
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले बर्तमान सरकारले चिन र भारतसँगको सम्बन्धमा खलबल ल्याएका कारण राष्ट्रियता खतरामा पारेको बताएका छन् ।
नेपाल तरुण दल खोटाङको चौथो अधिबेसनलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले प्रधानमन्त्री ओलीले छिमेकी देशसँगको कायम सम्बन्धमा सन्तुलन बिगारेका कारण राष्ट्रियता खतरामा परेको दाबी गरेका हुन् । खतरामा परेको राष्ट्रियताको बचाउ कांग्रेसबाट मात्र सम्भव रहेको महामन्त्री कोईरालाको भनाई थियो । महामन्त्री कोइरालाले नयाँ संबिधान राम्रो भएपनि कार्यन्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
कोईरालाले संबिधानमा सबै विषय उल्लेख भएपनि आर्थिक समाबेसीकरणको सिद्धान्तलाई नसमेटेको बताए । महामन्त्री कोइरालाले ‘गुट’ले पार्टी र स्वयं व्यक्तीलाई सिध्याउने भएकाले ‘गुट’को राजनिती नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टी सभापति शेरबहादुर देउवालाई अव समुहको आवश्यकता नरहेको उल्लेख गरे । ‘अव शेरबहादुरलाई किन समुह चाहियो, उहाँले पार्टीलाई एक बनाएर नेतृत्व सन्ततीलाई हस्तान्तरण गर्नुपर्छ,’ कोइरालाले भने, ‘गुटले पार्टीलाई सिध्याउँछ, खबरदार तपाई पनि गुटबाट नबित्नुस् ।’
कोइरालासँगै आएका कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले संबिधान कार्यान्वयनकालागि सहमतीको आवश्यकता औँल्याए । यस्तै, सांसद रामहरि खतिवडाले वर्षदिन बित्दा समेत भूकम्प पिडितलाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना गरे । वर्तमान सरकार भाषण गर्ने मात्र भएकाले वर्तमान सरकारबाट संबिधान कार्यान्वयन सम्भव नभएको खतिवडाको भनाइ थियो ।