काठमाडौं २७ जेठ
च्याउँ खाएर बिरामी परेपछि काठमाडौंको पाटन हस्पिटलमा उपचारका क्रममा बुधबार बिहानी निधन भएका खोटाङ च्यानडाँडा १ सेखुवाका दिदी बहिनीको आर्थिक अभाव र नेपाल बन्दका कारण बिहीबार अन्त्येष्टि रोकिएको छ ।
बुधबार निधन भएका तारा राई र अनिता राईको शुक्रबार अन्त्येष्टि गर्ने तयारी भएको उनका आफन्तले जनाएका छन् । बिहीबार अन्त्येष्टि गर्ने भनिए पनि आर्थिक अभाव र नेपाल बन्द समेतका कारण हुन नसकेको उनको आफन्तले जनाएका छन् ।
गत शुक्रबार सेखुवामा च्याँउ खाँदा बिरामी परेका एकै परिवारका ५ जनालाई आईतबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बिरामीमध्ये राममाया राई, राम बहादुर राई र रुकमान राईको काठमाडौंस्थित सुमेरु हस्पिटलको आईसियूमा उपचार भईरहेको छ । राममाया मृतक दिदीबहिनीको आमा हुन् भने रुकमान दाई हुन् । यस्तै रामबहादुर भने काका हुन् । रुकमान र राबहादुर बोल्ने सक्ने अवस्थामा भएपनि राममाया उनीहरुको तुलनामा केही गम्भीर बिरामी रहेको चिकित्सकहरुले जनाएका छन् ।
एकै परिवारका सबै सिकिस्त परेपछि आईसियूमा उपचार गर्नुपर्दा र महंगो औषधी प्रयोग गर्नुपर्दा उनीहरुको उपचारमा आर्थिक अभाव खड्किएर गएको छ । गाउँलेहरुले भने आर्थिक सहयोग अभियान सञ्चालन गरेर उपचारमा सहयोग पुर्याउन थालेका छन् भने सबैलाई उपचारका लागि सहयोगको आग्रह समेत गरेका छन् ।