खोटाङ, असार ५ । खोटाङमा शसस्त्र द्धन्द्धकाक्रममा गम्भीर प्रकृतिका मानव अधिकार हननका घटनामा संलग्न बिरुद्ध कारबाही माग गर्दै १४६ वटा उजुरी परेको छ ।

द्धन्द्धकोक्रममा हत्या, अपहरण तथा शरीर बन्धक, बेपत्ता, अंगभंग वा अपांग, शारीरिक वा मानसिक यातना, सम्पत्ती लुटपाट, कव्जा, तोडफोड वा आगजनी, जबरजस्ती घर निकाला वा बिस्थापन, यौन हिंसा लगायतका घट्नामा संलग्न राज्य तथा बिद्रोहीपक्ष बिरुद्ध कारबाही माग गर्दै पिडितले सत्य निरुपण तथा मेलमिलाप आयोगमा १३९ वटा र बेपत्ता पारिएका व्यक्तीको छानबिन आयोगमा ७ वटा मात्र उजुरी दिएका हुन् । जेठ मसान्तपछि पनि उजुरी दिने म्याद थप भएपछि उजुरी आउनेक्रम जारी रहेको स्थानीय शान्ति समितिका कार्यालय सचिव दिनेश घिमिरेले बताउनुभयो ।

सशस्त्र द्धन्द्धको समयमा निशस्त्र नागरिकलाई लक्षीत गरी योजनाबद्धरुपमा गरिएको मानव अधिकारका गम्भीर उल्लंघनका घट्नाहरुको बारेमा छानबीन गरी सत्यतथ्य पत्ता लगाएर वास्तबिक तथ्य जनसमक्ष ल्याउने र संलग्न दोषीलाई कानूनी कारबाही तथा पीडितलाई परिपूरणको सिफारिस गर्नकालागि आयोगले बैसाख २ गते देखि उजुरी आव्हान गरेको थियो । शान्ति समितिका अनुशार द्धन्द्धकाक्रममा जिल्लाका १२२ सर्वसाधारण तथा २२ प्रहरी, ११ सेना र ६ जना शसस्त्र प्रहरीले ज्यान गुमाएका थिए । यस्तै, २३९ जना बिस्थापित, ५३ जना अपांग, ४ जना अपहरण, ५ जना बेपत्ता, १२० जनाको सम्पत्ती क्षती भएको स्थानीय शान्ति समितिको तथ्यांकमा उल्लेख छ ।