खोटाङ, असार ५ । खोटाङको उत्तरी क्षेत्रका गाबिसलाई लक्ष्यीत गर्दै ऐसेलुखर्कमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।
सदरमुकाम दिक्तेलबाट टाढा रहेको उत्तरी क्षेत्रका नागरिकलाई आफ्नै क्षेत्रमा सेवा प्रबाह गर्नेगरी इलाका प्रशासन कार्यालय सुरु गरिएको हो । आईतबार प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको हातबाट स्थानीय ७८ वर्षीय बृद्ध शेरबहादुर निरौलालाई नागरिकता प्रदान गर्दै इलाका प्रशासन कार्यालयको सेवा सुरु गरिएको हो ।
ईलाका प्रशासन कार्यालयबाट रावा खोला पारीका ऐसेलुखर्क, बाकाचोल, सुंदेल, राखाबांदेल, दिप्सुङ, माक्पा, जलेश्वरी, महेश्वरी लगायतका ११ गाबिसका सर्वसाधारण लाभान्बित भएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले जानकारी दिए । ईलाका प्रशासन कार्यालयबाट नागरिकता, राहदानीका सिफारिस लगायतका सेवा प्रदान सुरु गरिएको छ । ऐसेलुखर्कमा लिलाबहादुर बिश्वकर्मा कायममुकायम शाखा अधिकृतकारुपमा खटिएका छन् । उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्रकारुपमा रहेको ऐसेलुखर्क ईप्रका खोटाङबजार पछिको दोश्रो इलाका प्रशासन कार्यालय हो ।
ऐसेलुखर्कमा ईलाका प्रशासन कार्यालय सुरुभएपछि पैदल एक दिनदेखि दुई दिन हिँडेर सदरमुकाम दिक्तेल आएर नागरिकता र राहदानी लिनुपर्ने समस्य हल भएको छ ।