खोटाङ, ५ जेठ । खोटाङमा भारी वर्षापछि तावाखोलामा आएको बाढी पहिरोको कारण अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।
गतवर्षको असार १९ गते भारी वर्षापछि तावाखोलामा आएको बाढी पहिरोले अवरुद्ध बनेको दिक्तेल–खोटाङबजार सडक सञ्चालनमा आएको हो । मात्तिम र टेम्मा गाविसको बीचबाट बग्ने तावा खोलामा आएको बाढीले मात्तिमतर्फको  ११५ मीटर र टेम्मातर्फको ६० मीटर सडक बगाएको थियो । सडक बगाएसंगै खोटाङ क्षेत्र नम्बर २ का सवै गाविसको सम्बन्ध सदरमुकाम दिक्तेलसंग टुटेको थियो । सडक बगाएर यातायात अवरुद्ध भएपछि जिल्ला प्राविधिक कार्यालयले अकास्मात निर्माणको काम सुरु गरिएको थियो । स्थानीय सडक सुधार कार्यक्रम (एलआरआईपी) मार्फत ९ मीटर उचाई र ३०० मीटर लम्बाई भएको पर्खाल (ग्याविन) लगाएर ४० लाखभन्दा बढीको लगानीमा सडक सञ्चालनमा ल्याईएको जिल्ला प्राविधिक कार्यालय खोटाङका ईन्जीनियर प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।

अवरुद्ध सडक सञ्चालनमा आएपछि क्षेत्र नम्बर २ का तीन दर्जन गाविसको पहुँच  पुन सदरमुकाम दिक्तेलसंग जोडिएको छ । दिक्तेल–खोटाङबजार सडक दक्षिणी क्षेत्रमा पर्ने थामखर्क बिमानस्थलालाई लक्षीत गरेर स्वईस सरकारले निर्माण गरेको थियो । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको ७४ किलोमिटर लामो हरित सडक ¥यापले ३६ करोड ३२ लाख ९९ हजार ३९१ रुपैयाँको लागतमा वाताबरणमैत्री प्रबिधि अपनाएर निर्माण गरेको थियो । उक्त सडक खण्डस्थित मात्तिम र लफ्याङ गाविस बीच भएर बग्ने साप्सुखोलामा पक्की पुल बन्न नसक्दा हिउँदमा मात्र सडक सञ्चालनमा रहने गरेको छ । क्षेत्र नम्बर २ लाई बाह्रै महिना यातायातलाई सदरमुकाम सम्म जोड्न साप्सुखोलामा पक्की पुल निर्माणको काम बिस्तार भईरहेको प्रमुख श्रेष्ठको भनाई छ  ।