असार ९ । माथिल्लो डिलमा सल्लाको सुन्दर लहर । तल डिलतिर चित्रमा जस्तै लाग्ने लहरै धुपीको बोट अनि चराचुरुङगीको चिरबिर । आसपासमा भने नजिकका बनजंगलबाट चर्दैचर्दै आई बन खरायो बुरुक्क बुरुक्क उफ्रने हरियो चउर ।
खोटाङ सदरमुकाम दिक्तेल सिरानमा रहेको तामाङ तथा शेर्पा बस्ती रहेको मुढे गाउँ । जुन कुनै चित्रकारले कोरेको चित्र जस्तै लाग्छ । दिक्तेल नगरपालिका प्रबेश गर्ने मुख्य नाकाका रुपमा फराकिलो पैदल बाटो रहेको छ मुढेमा । सोही बाटोबाट दिक्तेल झर्ने दायाँ किनारैमा छन् जस्ताले टिलिक्क छाएको एक जोडी घर । जुन घरमा गत कात्तिक महिनासम्म बस्दै आएका थिए अंकुर तामाङका ७८ बर्षिय बुवा भिमबहादुर र ६५ बर्षिया लाकमायाँ । मन्तरे छोरा अंकुरको आफुहरुलाई सुख दिने सपनाको कदर उनकै आग्रहमा घरमा ताला लगाई जग्गाजमिन अरुको हातमा दिएर ईटहरीको हाँसपोसामै सँधै बस्नेगरी गएका हुन उनीहरु ।
‘मन्तरेले पहाडमा कति दुःख गर्नुहुन्छ ? दाजुहरुसँगै आएर बस्नु भनेपछि यतै झरेका हौं,’ बुवा भीमबहादुरको प्रतिप्रश्न छ ‘के गर्नु अब त छोराले पनि छाडेर गयो, अब कसरी मन बुझाउनु?’ यता, एकोहोरो अंकुरको नाम पुर्कादै आमा लाकामायाँ नियतिलाई समेत दोष दिन्छिन् । भाब्बिह्ल हुँदै रुन्छिन् ‘मेरो छोराले मलाई सधैंभरिका लागि छाडेर गए ।’
गत वैशाख अन्तिम साता घरबिदामा आएर अफगानिस्तन फर्किएका ३१ वर्षीय अंकुर तामाङको पनि काबुल आत्मघाती बम आक्रमणमा परी मृत्यु भएको हो । दिक्तेलको मुढेमै जन्मिहुर्किएका तामाङको मृत्यु भएको खबरपछि दिक्तेलको मुढेलगायतका सिंगै गाउँ शोकमा डुबेको छ । अंकुरको परिवार बसाई सरे पनि उनका भाईबंश मुढेमै रहेका छन् ।
अंकुर परिवारका मन्तरे (कान्छोमाथिका) थिए। लाकमाया र भीमबहादुरका नौ जना छोरामध्ये तीन जनाको मृत्यु भएकोमा अहिले छ जना थिए, अकुंरको पनि मृत्यु भएपछि पाँच जना बाँकी छन् ।
अंकुर पाँच वर्षअघि नेपाली सेनाको जागिर छाडेर अफगानिस्तान गएको आफन्तको भनाई छ । वैशाखमा घर आउँदा अब फेरि फर्किउर भने अस्ट्रेलियाजाने योजना सुनाएको उनका दाई देवराजले जानकारी दिनुभयो । अंकुर मासिक एक लाख रुपैयाँ कमाउँथे । हरेक वर्ष दिनमा घरबिदामा आउजाउ गर्थे ।
तीन वर्षअघि हेटौंडामा रहेकी गोमा गोलेसँग अंकुरको विवाह भएको थियो । गोमा पनि अहिले अर्धबेहोस अवस्थामा रहेको जनाईएको छ ।