असार १९ । कुटपिटबाट खोटाङका पुर्वसभाषद अर्जुन राई घाईते हुनुभएको छ । सदरमुकाम दिक्तेलबाट बुईपा जानेक्रममा शनिबार राती नुन्थलाका हुर्लुङमा बास बसेकै होटलमा निर्घात कुटिनु भएको हो । 
सोही होटलमा मादक पदार्थ सेवन गरिरहेका खोटाङकै नुनथला–८ का २२ वर्षीय तेञ्जिङ शेर्पा र उदयपुरको कटारी–८ का २४ वर्षीय रमेश अछामी लगायतको समुहको कुटपिटबाट पुर्वसभाषद राई घाईते हुनुभएको प्रहरीले जनाएको छ । 
फोनबाट अन्य व्यक्तीसँग धम्काधम्की गरिरहेका शेर्पा र रमेशले एक्कासी आक्रमण गरेको पुर्वसभाषद राईले बताउनुभयो । राईका अनुसार बास बसेको होटलबाट भागेर दोश्रो होटलमा पुग्दा सोही ठाउँमा पनि आक्रमण भएपछि भाग्ने क्रममा मकै बारीमा समेत कुटपिट गरिएको थियो । कुटपिटका क्रममा ज्यान जोगाउन ‘मरेको अभिनय’ गरेपछि मात्र छाडेको राईको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार पुर्बसभाषद् राईले समेत मादक पदार्थ सेवन गरेका थिए । उनीहरुका अनुसार तेक्वान्दोका पुर्ब खेलाडी समेत रहनुभएको राईले शुरुमा अछामीलाई हात हालेर भागेका थिए ।
कुटपिटबाट राईको नाक, बायाँ हातको पाखुरा लगायतका स्थानमा चोट लागेको छ । यस्तै, कुटपिटबाट शरीरका बिभिन्न ठाउँमा नीलडाम लागेको छ । अस्पतालले घाईते सभाषदको टाउको, नाक र च्यापुको सिटिस्क्यान गर्नुपर्ने बताएको छ । राप्रपा नेपाल खोटाङका अध्यक्ष जीवन श्रेष्ठले घटनाको विषयमा जानकारी पाएलगत्तै नुनथला प्रहरीचौकीका प्रहरीले सभाषद राईलाई मरणासन्न अवस्थामा उद्धार गरेको थियो । अन्तिम चरणमा पुगेको मेवा खोला हाईड्रोपावरको पोल ढुवानीका लागि बुइपा जानेक्रममा पुर्वसभाषदमाथि बास बसेको ठाउँमा आक्रमण भएको हो । 
घटनाका आरोपितमध्ये शेर्पा र अछामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयका अनुशार शेर्पा काउण्टरका कर्मचारी र अछामी चालक हुन् ।