खोटाङ २० असार
च्यानडाँडा एकमा बोक्सीको आरोपमा ७२ वर्षिया एक वृद्धामाथि भएको कुटपिटको घटनामा प्रहरीकै संलग्नतामा कमजोर मुद्धा चलाइएको रहस्य खुलेको छ ।
जाहेरी दिन अगाडी मुद्धा शाखाका सई उमेश यादवलाई वकिल नारायणदास राईसँगै भएको अवस्थामा जाहेरी के भनेर लेखौं भनी सोधेको र सई यादवले नै भने बमोजिम आफूहरुले जाहेरी दिएको पीडित पक्षले बताएका छन् । सार्वजनिक अपराध शिर्षक लेखेर अरु तल लेख्नु भनेर सई यादवले भनेपछि वकिलले लेखेका थिए, हामीले भएको सबै घटना टिपाएका हौं, एक पीडितले भने ।
सई यादवले आफैंले बोक्सी भन्दै ज्यान नै मरणोशान्न हुने गरी भएको कुटपिटको घटनालाई सामान्य सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाउन खोजेको थप तथ्य समेत पाइएको छ ।
केही दिन अगाडी प्रहरीले पीडित र स्थानीयलाई बयानका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो । सो क्रममा पीडित पक्षले बोक्सी भन्दै मरणाशन्न हुने गरी कुटपिट भएको छ, टाउकोमा सात टाँका लगाएको छ, हातखुट्टामा चोट छ किन सामान्य अपराध अन्तर्गत मुद्धा चलाएको भनेर प्रश्न गरेका थिए । तर, सई यादवले दुई चार जनाले भन्दैमा बोक्सी भनेको भनेर प्रमाणित नहुने भन्दै दुई चार जनाले भनेकै भरमा मुद्धा चलाउन नसकिने भन्दै उल्टै पीडित पक्षसँग खनिएको पीडित ७२ वर्षीया वृद्धाका माइती पक्षले बताएका छन् ।
प्रहरीको मिलेमतोमा नै मुद्धा कमजोर चलाइएको चौतर्फी आरोप लागिरहँदा मुद्धा शाखाका सई यादवबाट नै यस्तो अभिव्यक्ति सार्वजनिक गर्नुले घटनामा मिलेमतोकै आधारमा कमजोर मुद्धा चलाइएको पुष्टि हुन गएको छ ।
१३ गते च्यानडाँडा एकमा भएको घटनाका सम्बन्धमा प्रहरीले थप प्रमाण जुटाउने उद्देश्यका साथ स्थानीय तथा उजुरीकर्तालाई प्रहरी कार्यालयमा बयानका लागि बोलाएको थियो । बयान दिन आउने आधा दर्जन भन्दा बढी स्थानीय तथा प्रत्यक्षदर्शीले घटना गम्भीर भएको भन्दै दोषीलाई बोक्सी सम्बन्धी सजाय तथा कसुर सम्बन्धी नै मुद्धा चलाउन माग गरेका थिए ।
के छ बोक्सी सम्बन्धी ऐनमा
कानुनअनुसार बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । त्यस्ता अपराध गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योगअन्तर्गत थप सजाय हुने उल्लेख छ ।
कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साथै १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । बोक्सी आरोपमा यातना दिएका व्यक्तिलाई यातना दिने पीडक पक्षले मुद्दाको किनारा नलागेसम्म आफैंले हेरचाह गर्नुपर्ने व्यवस्था कानुनमा गरिएको छ । त्यसअनुसार पीडकले पीडितलाई आफ्नै घरमा खानबस्न र लगाउने कपडा दिनुपर्नेछ । पीडितलाई शरीरिक वा मानसिक चोट पुगेको भए त्यसको उपचारसमेत पीडक पक्षले नै गराउनुपर्ने छ भने त्यसक्रममा लागेको सबै खर्च पीडक पक्षले भर्नुपर्ने छ । पीडितलाई थप पीडा हुने गरी गाली बेइज्जती, धम्की दिन नपाइने व्यवस्था गरेको छ ।
पीडक पक्षको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको या पीडकले रकम उपलब्ध गराउन नसक्ने अवस्था भए नेपाल सरकारले बेहोर्ने व्यवस्था राखिएको छ । पीडकको आर्थिक स्थितिको मूल्यांकन अदालतले ठर्हयाउने छ । पीडकले तिर्न नसके सरकारले तीन महिनाभित्र लैंगिक हिंसा निवारण कोषबाट उपलब्ध गराइने व्यवस्था राखिएको छ । उपचारका क्रममा पीडितको मृत्यु भए क्षतिपूर्तिबापतको रकम पीडितका छोराछोरी र त्यो नभएको खण्डमा बाबुआमाले पाउने व्यवस्था छ । तर ती एकल वृद्धा महिलाले अहिलेसम्म उपचार खर्च समेत पाएकी छैनन् भने कुनै कानुनी सहायता समेत नपाएको गुनासो गरेकी छिन् ।