खोटाङ ४ साउन । जिल्लाको उत्तरी गाविस खार्मीलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको छ । गाविसमा रहेका दुई वर्षमुनीका बालबालिकालाई नेपाल सरकारले सञ्चालन गरेको सबै प्रकारका रोप लगाएको सुनिश्चित भएपछि खार्मी गाविसलाई आईतबार पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको हो । 
स्थानीय कालिका माविको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले दशौं गाविसका रुपमा खार्मी गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गर्नुभएको हो । ७७४ घरधुरी रहेको खार्मी गाविसमा दुई वर्षमुनीका ७१ जना बालबालिका रहेका स्वास्थ्य चौकी खार्मीका प्रमुख नविन लामीछानेले जानकारी दिनुभयो ।  
गाविस सचिव तथा गाउँ स्वास्थ्य सहयोग समन्वय समितिका अध्यक्ष चित्रकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिधि, कार्यालय प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा किरात राईहरुको साँस्कृतिक ना साकेला सिलीसमेत प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्नुहुँदै प्रजिअ कार्कीले खार्मी गाविसका सबै प्रकारका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । “म तपाईहरुको काम गर्नकै लागि खोटाङ आएको हुँ ।” उहाँले भन्नुभयो, “तपाईहरुले उठाएका सबै मुद्दामा म गम्भीरताका साथ लाग्नेछु ।”
खार्मीवासीले प्रजिअ कार्कीलाई गाविसको विकास निर्माण तथा शान्ति सुरक्षालाई गम्भीरताका साथ लिइ दिन अनुरोध गरेका थिए । सदरमुकाम दिक्तेलसँग जोडिएको खार्मी गाविस विकास निर्माणको क्षेत्रमा पछाडि छ ।