
विश्वको ध्यान खिच्न सफल पूर्वको पशुपति भनेर समेत परिचित प्रसिद्ध ‘हलेसी गुफा’ पुर्वी नेपालको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि करिब ९ कोश पश्चिम महादेबस्थान गाविसमा अवस्थित छ ।
८६३५ डिग्रीदेखि ४६४० डिग्री पुर्वी देशान्तर र २७१० डिग्री देखि २७१४ डिग्री उत्तरी आक्षांशमा फैलिएको हलेसी समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाईमा रहेको छ । किरात, बौद्ध तथा हिन्दु धर्मको संगमस्थल मानिने यस हलेसी धाम कित्ता नम्बर ६७ को करिब २६ रोपनी क्षेत्रफलमा फैलिएको छ । समग्रमा यो ठाउँ गुराँसे, तुवाचुङ (मलाथुम्की), रुपाकोटजस्ता सदाबहार डाँडाको काखमा अवस्थित छ ।
इतिहासका अनुशार पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले यस भूमीमा किराती राजा ‘होलैसुङ’ ले शासन गरेको थियो । पछिल्लो समयमा सोही ‘होलैसुङ’ शब्द अपभ्रंश भइ ‘हलेसी’ नाम रहन गएको किंवदन्ती छ । समयको परिवर्तनसंगै यस ठाउँ विश्वभरी ‘हलेसीधाम’को नामले प्रसिद्ध छ । मनोरम प्रकृतिको छटाले भरिपूर्ण एबं बिभिन्न अनौठा र आकर्षक प्राकृतिक चट्टान (शिला)का आकृतिहरुले झकीझकाउ हलेसीधाममा बिशेषत- शिब गुफा, बसाहा गुफा र भैरब गुफासहित तीन वटा महत्वपूर्ण गुफाहरु रहेका छन् । यस्ता अनौठा–अनौठा प्राकृतिक चट्टानले बनेको आकर्षक दृश्यले हलेसीमा घुम्न आउने जो कोहीको मन लोभ्याईरहेको छ ।
प्रस्ताबित किरात प्रदेश अन्तरगत खोटाङ जिल्लाको महादेब स्थान गाबिस–४ मा बाक्लो जंगलले ढाकिएको एउटा थुम्को (डाँडा) रहेको छ । सोही डाँडाको टाकुरामा आकाशतिर फर्केको एउटा ठूलो चट्टानको गुफा छ । त्यही गुफालाई महादेब÷शिब गुफा भनिन्छ । यसै गुफाको नामबाट यस गाबिसको नाम समेत महादेबस्थान रहन गएको हो । यस खाल्डो आकारको गुफाभित्र प्रबेश गरी करिब तीनसय फिट मुनी ओर्लेपछि केही समथर ठाउँमा पुगिन्छ, जहाँ हजार जनाभन्दा बढि मानिस अटाउन सकिन्छ । गुफाभित्रको मन्द उज्यालो र समथर ठाउँमा महादेब (शिब) र गणेशको प्राकृतिक मुूर्ति एकैसाथ अवस्थित छ । त्यहाँबाट दक्षिणतर्फको भित्तामा पार्वतीस्थान छ । सो स्थानमा पार्वतीले गणेशजीलाई कोक्रोजस्तो देखिने शिलामा दुध ल्याइरहेको आकृति छ, जुन ठाउँमा निसन्तान मानिसले सन्तान माग्ने प्रचलन छ । गुफाभित्रको उत्तरी कुनामा धर्मद्धार, पापद्धार रहको छ । त्यस द्धारबाट धर्मात्मा मानिस छिर्न सक्ने र अधर्मीहरु छिर्न नसक्ने किंवदन्ती रहिआएको छ । यस बाहेक जन्मद्धार, स्वर्गद्धार, कर्मद्धार, तेत्तिसकोटी देवताका प्रतिमूर्तिलगायतका बिशेष महत्वका ढंगाका प्राकृतिक मूर्तिहरु समेत यसै महादेब गुफाभित्र देख्न सकिन्छ ।

त्रि–धार्मिक स्थल
किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको त्रिगमस्थल ‘हलेसीधाम’ नेपालको थुप्रै तिर्थस्थल एबं पर्यटकीय स्थलहरुमध्ये एक प्रमुख स्थल हो । प्राग–ऐतिहासिक कालमा किरातीहरुको पुर्खा (पुर्वज) खोक्चिलीप्पा/रैछाकुले/हेच्छाकुप्पा यस हलेसी गुफामा बसेको किंवदन्ती छ । खोक्चिलीप्पा सानै हुँदा उनका दिदीहरु तायामा र खियामा हराए । पछि, उनी आफु केही सामथ्र्यवान र बुझ्ने भएपछि हराएका चेलीहरुको खोजी गर्न वापा (कुखुरााको भाले)लाई पठाउँछ, उता तायामा र खियामा भने तुवाचुङ/जायजुम (हालः महादेबस्थान–१ मा पर्दछ) मा कपासको खेती गरेर तान बुन्दै बसिरहेका थिए । यसरी भालेको सहायताले दुबै चेलीहरु भाई खोक्चिलिप्पाको घर हलेसी गुफा पुगेको किंवदन्ती छ । धेरै समयपछिको त्यस ऐतिहासिक भेटघाटको खुसीयालीमा माईतीचेली मिलेर धुमधामसंग मुन्धुम गाउँदै, ढोलझ्यम्टा बजाउँदै साकेला शिली नाचे । त्यसैबेलादेखि किरातीहरुले यस भूमीलाई आफ्नो पितृका रुपमा पुज्दै आएका छन् । यहाँ बर्षेनी किरातीको महान चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुङगा, सोलुखम्बुलगायतका किराती भेला भइ आफ्नो पितृलाई पुज्ने गर्दछन् । पितृलाई अक्षता, अदुवा, वासिम (जाँड), आराखा (रक्सि) चढाएर मुन्धुम गाउँदै ढोलझ्याम्टा बजाएर साकेला सिली नाच्दै पुजा गर्ने गर्दछन् ।
अर्कातिर हिन्दु धार्मिक किंवदन्तीअनुशार सत्ययुगमा महादेब भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा बृषासुर÷भष्मासुर÷बुकासुर नाम गरेको राक्षशले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने बरदान मागे । मातेर लट्ठ परेका महादेबले पनि बिचारै नगरी ‘तथास्तु’ बरदान दिए । तर, बरदान पाएपछि बुकासुरले महादेबकै टाउकामा हात राख्न तयार भए । भष्म हुने डरले महादेब पनि ज्यान जोगाउन भाग्न थाले । भाग्दा–भाग्दा संसार घुमे तर बुकासुरले महादेबलाई खेद्न छाडेनन् । अन्तमा भाग्दै जाँदा हलेसीको यस डाँडालाई फोडेर चट्टानभित्र प्रबेश गरे र त्यही अलप भए । उसबेलादेखि नै यहाँ महादेबको बास रहेको बिश्वास गरिन्छ ।
त्यस्तै बोद्धधर्मअनुशार यस भूमीमा सयौं बर्ष पहिले महान बौद्धगुरु पद्यमसम्भवले बर्षौँ तपस्य गरी बुद्धत्व प्राप्त गरेको पबित्र भूमी हो भन्ने किंवदन्ती छ । तसर्थ, त्रिधार्मिक महत्वका धरोहर हलेसी कसैकोलागि नौलो नाम हैन । यहाँ बर्षेनी बिश्वका किरात, बौद्ध तथा हिन्दुधर्मावलम्बीहरु हजारौंको संख्यमा भित्रिने गरेका छन् । बिश्व अहिले धार्मिक द्धन्द्धमा फस्न लागीरहेको बेला बिश्वले यहीबाट धार्मिक सहिष्णुताको पाठ सिक्नु जरुरी छ, जहाँ किरात, बौद्ध, हिन्दु सबैले एकै थलोमा एकैसाथ पुजाआजा गर्दै आइरहेका छन् ।

हलेसी कसरी पुग्न सकिन्छ ?

पुर्वको पशुपतिनाथको नामले परिचित यस हलेसी मन्दीरको उचित प्रचार प्रसार एबं संरक्षण संबद्र्धन गर्न सरोकारवालाको ध्यान नजानुले अझैसम्म ओझेलमा परिरहेको छ । विश्वप्रसिद्ध धार्मिक एबं पर्यटकीय स्थल हलेसीको प्रचार–प्रसारमा अझै व्यवपकता दिन सके, खाना, आवास, सुचना, स्वास्थ्य लगायतका पुर्वाधारको उचित प्रबन्ध गर्न सके, तिर्थयात्री एबं पर्यटकहरुकालागि टिकट बुकिङ र यातायात सेवाको राम्रो प्रबन्ध गर्न सके हलेसी मुलुककै धार्मिक पर्यकीय स्थल बन्नेमा दुई मत छैन ।