खोटाङ, असार ८ । खोटाङमा गरिब घरपरिवारको सूचीबाट ‘धनी र हुनेखाने’को नाम हटाउन अभियान थालिएको छ । आर्थिक वर्ष २०६९÷०७० मा संकलन गरिएको गरिब घरपरिवारको तथ्यांकमा समाबेस भएका ‘धनी र हुनेखाने’को नाम हटाउन अभियान सुरु गरिएको हो । जिल्लाको एक नगरपालिका र ७२ गाबिसमा असार–१ गतेदेखि सार्वजनिक सुचना टाँस गरेर उजुरी आव्हान गरिएको गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सुचना प्रबिधि अधिकृत प्रबीण पोखरेलले बताउनुभयो ।
गरिब घर परिवारको सूचीमा पर्नबाट छुटेका परिवारलाई समेट्न र नपर्नुपर्ने परिवारलाई हटाउनकालागि पुनरावलोकन र छानबीनका काम अन्तिम चरणमा पुगेको छ । गरिब घर परिवारमा शिक्षक, गाबिस सचिव, कर्मचारी र हुनेखाने धनाढ्या परिवार समेत समाबेस भएको पाइएकाले उनीहरुको नाम सूचीबाट हटाउने काम भइरहेको समितिले जनाएको छ । गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिले जिल्लाका राजनैतिक दललाई जिल्लामा हालसम्म ८ हजार ६६४ गरिब घर परिवारको पहिचान भएको जानकारी दिएको छ । यस्तै, ५ हजार ३४ परिवारको भने तथ्यांक अधुरो रहेकाले पुःन सच्याउनुपर्ने देखिएको छ । बैठकमा सहभागी दलका नेताहरुले गरिब परिवारको सूचीबाट ‘हुनेखाने’को नाम हटाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
मापदण्ड अनुशार पहिचान भएका गरिब घर परिवारले सरकारबाट अति गरिब, गरिब र सिमान्त गरिब गरी तीन बर्गको परिचयपत्र प्राप्त गर्नेछन् ।