खोटाङ, १५ साउन । “चारैतिर काँढेतारले घेरिएको ठाउँमा बसाएको थियो ।” एक युवाले भने, “बाहिर कतै जान पाइन्नथ्यो, हामीलाई काम लगाउने एक जनालाई दुई सय रिङ्गेट दिएर भाग्न सफल भएँ ।”
सत्र महिनासम्म मलेसिया बसेर नेपाल फर्किएका खोटाङ खार्मी–८ का दिपक तामाङले दिक्तेलस्थित भवन गैरामा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामीले सोचेका थियौं, आफन्तकाबाटै विदेश आएका छौं, अब राम्रै कमाइ हुन्छ भनेर तर, हामीलाई छक्याइएको रहेछ ।”
दिपकको आफ्नै अन्तरे काकाका छोरा मनकाजी तामाङले सत्र महिनाअघि पाँच जना आफन्तलाई मलेसिया पठाएका थिए । मनकाजीले आफ्नै ठूलो बुबाको छोरा धनकुमार तामाङ, छिमेकी काकाका छोराहरु ज्ञानकुमार र तीर्थ तामाङ तथा पाथेका नाखामका उदय राईलाई मलेसिया पठाएको खुलेको छ ।
मनकाजीले प्रतिव्यक्ति डेढ लाख रुपैयाँ धरौटी रकम लिएर मलेसियाको ‘ला ग्लोव’ कम्पनीमा काम लगाउँछु भनेर आफूहरुलाई पठाएको दिपकको भनाइ छ । “हामीलाई पठाउने बेला राम्रा–राम्रा कम्पनी, गाडी र बस्ने क्वाटरसमेत देखाइएको थियो ।” पुरानो कुरा सुनाउँदै उहाँले भन्नुभयो, “तर मलेसियामा लगेर जङ्गलभित्र बाख्रालाई घाँस काट्न तथा सोही ठाउँमा पालिएका कुखुरालाई चारो हाल्न लगाइयो ।”
एजेन्टको काम गर्दै आएका मनकाजीले काठमाडौंस्थित लिङ्कस्टार मेनपावर कम्पनीमार्फत मलेसिया पठाएको दीपकले बताउनुभयो । “त्यहाँ पाएको यातना र जङ्गली व्यवहार सहन नसकेर म त भागेर आएँ ।” उहाँले भन्नुभयो, “मसँगै गएका चार भाइ तथा अन्य नेपालीको कन्तबिजोग भएको छ ।”
गाडीको बाटोदेखि करिब तीन घण्टा टाढा पर्ने जङ्गलमा उनीहरुसहित ९० जना नेपाली रहेको दिपकले जानकारी दिनुभयो । “दैनिक अठार घण्टा काम गर्नुपथ्र्यो ।” उहाँले भन्नुभयो, “भनेको समयमा खान र सेल्लेरीसमेत पाइन्नथ्यो ।”
काँढेतार बाहिर निस्कन खोज्दा पालेका रुपमा बसेका व्यक्तिले तरवार उब्ज्याइ हाल्ने गरेको दिपकले बताउनुभयो । “बाहिर निस्कन त के भित्रै बस्दा पनि पटकपटक यातना खेप्नुपथ्र्यो ।” पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीले त दुःख भोग्यौं नै विदेश जान चाहने अन्य नेपालीई सचेत रहन सुझाव दिन्छु ।”
मनकाजीले मासिक २२ सय रिङ्गेट हुन्छ भनेर  आफूहरुलाई मलेसिया पठाएको दिपकको भनाइ छ । “नेपालमा भनेजस्तो नभएपछि टिकटको पैसा काटेर फर्काउनुस् भन्दासमेत दाजुले मान्नुभएन ।” उहाँले भन्नुभयो, “हदै भएपछि भागेर भएपनि निस्कन सफल भएको छु ।”
जङ्गलबाट भागेपछि ‘चार हजार ५०० रिङ्गेट’ नेपालको दुई लाख १६ हजार तिरेर नेपाल आएको दिपकले बताउनुभयो । “घर आउने खर्च नभएपछि २५ महिनासम्म बन्धक भएर बसेका नेपालीहरु छन् ।” यसअघि सात वर्ष साउदी बसेर आएका दिपकले भन्नुभयो, “पठाउने बेलामा  गरेरको सम्झौतापत्र समेत खोसेर जलाएका थिए ।”
छक्याइएका नेपालीहरु केरा र सुपारीको छाप्रो बनाएर बसेका दिपकले बताउनुभयो । “त्यहाँ बस्दा ढुङ्गे युगका व्यक्ति जस्तो भएर बस्नुपथ्र्यो ।” उहाँले भन्नुभयो, “न लुगा धुन पाइन्थ्यो, न नुहाउन नै, पशु सरह बन्धक बनाएर राखेको थियो ।”
उनीहरु ठगिएको बारेमा केन्द्रमा निवेदन आएको र कारबाही थालिएको सूचना केन्द्रका परामर्शदाता सहरमान राईले जानकारी दिनुभयो । “उनीहरुलाई छक्याइएको रहेछ ।” उहाँले भन्नुभयो, “सम्बन्धित निकायमा केन्द्रले पहल गरिरहेको छ ।”
काठमाडौंमै बसेर एजेन्टको काम गर्दै मनकाजी भने सम्पर्क बिहिन बनेका छन् । उनले पहिले चलाउँदै आएको मोबाईलसमेत स्वीचअफ गरेर सम्पर्क बिहिन बनेको उनीहरुले बताएका छन् ।