दमन राई 
खोटाङ २७ साउन । ‘डिकुवा, बाहुनीडाँडा, च्यास्मीटार, दुर्छिम, हलेसी…’ बसेको ठाउँबाट उभिएका कांग्रेस महासमिति सदस्य बिष्णुकुमार राईले भन्दै गए, ‘बडहरे, मंगलटार, धितुङ गाविसको एउटा गाउँपालिका ।’ महासमिति सदस्य राईले भने बमोजिम जिल्ला बिकास समितिका आईटी ईन्जिनियर सुवास राईले प्रोजेक्टरमा जडान गरिएको ल्यापटपमा प्रस्तावित गाउँपालिकाको नक्सा कोर्न थाले ।
कांग्रेसले तयार पारेको खाकाको पालो सकिएपछि एमालेका अध्यक्ष बबी चालीङले पार्टीका तर्फबाट गाउँपालिका र नगरपालिकाको खाका पेश गरे । चाम्लिङले उल्लेख गरे अनुशार आईटी ईन्जिनियर राईले तत्कालै ल्यापटपमा रंगीबिरंगीका खाका कोरेर प्रोजेक्टरमार्फत भित्तामा ‘डिस्प्ले’ गरेर देखाए । क्रमशः नेकपा माओबादी केन्द्र, राप्रपा, नेकपा माले लगायतका दलका नेताहरुले पनि आ–आफ्नै किसिमका खाका छलफलकालागि पेश गरे । 
स्थानीय तहको खाका पेश गर्ने र त्यसमाथि छलफल गर्नेक्रम घण्टौँसम्म चलिरह्यो । नेताहरु डायरी र प्रिन्ट पेपरमा आफ्नो पार्टीको स्थानीय निकायको खाका सहित बसेका छन् भने खाकालाई प्रोजेक्टरबाट ‘शो’ गर्नकालागि जिबिसका कर्मचारी ल्यापटप र खोटाङको नक्सा सहित तयारी अवस्थामा बसेका छन् । दृश्या स्थानीय तहको पुर्नसंरचनाको खाका टुंगो लगाउन जिल्ला बिकास समिति खोटाङको सभाहलमा आयोजित सर्वदलीय बैठकमा देखिएको हो ।
 खोटाङको स्थानीय तहको पुर्नसंरचनाको विषयमा साझा खाका बनाउनकालागि सबै दलका नेता एक ठाउँमा भेला भएर घनीभूत छलफलमा जुटेका हुन् । कतिसम्म भने कुनैबेला संबिधान जलाउन अघि सरेका संघीय समाजबादी फोरमका जिल्ला अध्यक्ष सुर्यबहादुर राई र सचिव प्रेम राई समेत छलफलमा अनौपचारिकरुपमा सहभागी छन् । छलफलमा पालैपालो कुनै एउटा दलका नेताले आफ्नो पार्टीको खाका प्रस्तुत गर्छन् । त्यस खाकामाथि अन्य दलका नेताहरुले प्रश्न गर्छन् । प्रस्तोताकारुपमा उभिएका नेताले आफ्नो खाकाको उपयुक्तता माथि आधार सहित अन्य दललाई ‘कन्भिन्स’ गर्छन् । आफ्नो खाकालाई बैज्ञानिक र व्यबहारिक देखाउने आधार र पुष्ट्याँई पेश गर्छन् । छलफलमा गाउँपालिका र नगरपालिकाको खाकाका बिषयमा नेताबीचमा गरमागरम बहस चल्छ । 
कांग्रेसले पेश गरेको खाकामा हलेसी गाउँपालिबाट सल्ले र बिमानस्थल भएको लामीडाँडा अलग गरिएको, खोटाङबजार र सिमपानी जोडिएको गाबिस भएपनि फरक–फरक केन्द्रकारुपमा प्रस्ताव गरिएको भन्दै खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी खम्बू लगायतले आलोचना गरिहाले । एमालेले प्रस्तुत गरेको खाकामा सांसद बिशाल भट्टराईको गाबिस खोटाङबजार, पिके राईको गाबिस बुईपा, पुर्वजिबिस सभापति पर्शुराम कार्कीको गाबिस सिमपानीलाई केन्द्र बनाउने स्वार्थमा खाका बनाइएको भन्दै तत्कालै राप्रपाका अध्यक्ष ललित राई लगायतले टिप्पणी गरे ।
हरेकको खाकामाथि आउने यस्तै टिप्पणी, आलोचना र सुझावले बैठक कक्षमा घरीघरी घम्साघम्सी चल्छ । स्थानीय निकायको खाकामाथिको घम्साघम्सी केही दिन जारी रहने छ । स्थानीय तहको विषयमा भइरहेका घम्साघम्सीलाई स्वभाबिक र आवश्यक नै ठानिएको छ । 
दलबीचको समझदारी नटुटे शुक्रबारसम्ममा जिल्लाको गाउँपालिका र नगरपालिकाको खाका टुंगो लाग्ने स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले जनाएको छ । 
आफ्नो खाकामा तलमाथि गर्न नचाहने कांग्रेस–एमाले आफ्नो अडानमा लचिलो भएर स्थानीय तहको संख्या १३ वटा बनाउन तयार भएपछि स्थानीय तहको पुर्नसंरचनाको खाकाका बिषयमा ‘घम्साघम्सी’ छलफल गर्ने वाताबरण बनेको हो । एक नगरपालिका र ७२ गाबिस रहेको खोटाङमा १२ वटा स्थानीय तह बनाइनुपर्ने कांग्रेस र ९ वटा हुनुपर्ने एमालेको प्रस्ताव छ । स्थानीय तहको खाकाको बिषय अनिर्णित भएको हप्ता दिनपछि १३ वटा गाउँपालिका र नगरपालिकाको खाका बनाउनमा कांग्रेस–एमाले सहमत भएपछि बुधबारदेखि छलफल सुरु भएको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिको कार्यतालिका प्रभाबित बनेको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताए । 
एकले प्रस्तुत गरेको खाकामा अर्कोको समर्थन प्राप्त नहुने र लामो समयसम्म खाकाको बिषय टुंगो लाग्ने अवस्था नदेखिएपछि एक ठाउँमा बसेर सबैको खाकामाथि बहस, टिकाटिप्पणी, उपयुक्त, अनुपयुक्त लगायतका बिषयमा बहस गर्न थालिएको हो । छलफल सुरु भएका कारण कांग्रेस–एमालेका कारण अनिर्णीत बनेको खाकाले साझा रुप लिने आशा पलाएको छ । भर्खरै बनेको नयाँ सरकारले गाउँपालिका र नगरपालिकाको संख्या बढाउन सक्ने भएकाले प्रस्ताबित खाकामा टुंगोमा पुग्न हतार गर्नुपर्ने आवश्यकता नभएको भन्दै कतिपय नेताहरु ‘सिरियस’ देखिएका छैनन् । 
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका अनुशार कांग्रेसले १२, एमालेले ९, नेकपा माओबादी केन्द्रले १०, राप्रपा नेपालले १७, राप्रपाले ९, नेकपा मालेले १२ र नयाँ शक्तीले ९ वटा स्थानीय तह रहने खाका प्रस्ताव गरेको छ । हरेक दलको स्थानीय निकायको आ–आफ्नै किमिसको खाका भएपनि १३ लाई सबैले साझा मानेकाले सोही खाकाका बिषयमा छलफल सुरु गरिएको हो । कांग्रेस र एमाले गाउँपालिका र नगरपालिकाको खाकाको संख्यालाई समाएर बसेपछि तीन समुहमा बनाइएको स्थानीय तह खाका निर्माण समुहले आफ्नो काम गर्न सकेन । स्थानीय तह खाका निर्माण समुहले साउन–१८ गतेदेखि काम गर्ने भनिएको थियो । दुई पार्टीकै कारण साउन–२४ गतेभित्र स्थानीय तहको साझा खाका बनाउने स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिको कार्यतालिका प्रभाबित बनेको छ । 
गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका बिषयमा सबैको साझा बुझाई र धारणा सिर्जनाकालागि गत साउन–१७ गते सोमबार आयोजना गरिएको जिल्ला स्तरिय गोष्ठीमा आफ्नो धारणा राखेर कांग्रेसले बहिस्कार गरेपछि शान्ति समितिको संयोजनमा दोश्रो दिन बसेको बैठक समेत निष्कर्ष बिहिन बनेको थियो । पुःन बस्ने सहमतीमा टुंगिएको सो बैठक पुःन बस्न नसकेपछि प्रशासनको संयोजनमा साउन–२० गते बिहिबार बैठक बसाइएको थियो । सोही दिन बाहेक बस्न नसकेको सो बैठकले पुःन बुधबारदेखि निरन्तरता पाएको हो ।