खोटाङ ३१ साउन । खोटाङका राजनैतिक दलका नेताहरुले गरिबी निवारण कार्यक्रमलाई जनमुखी बनाउन साझेदार संस्थाहरुलाई सुझाव दिएका छन् ।
गरिबी निवारण कोषको साझेदार संस्थाहरुको बार्षिक समिक्षा कार्यक्रममा सहभागी दलका नेताहरुले दातृ निकायबाट आउने बजेटलाई गरिबको आर्थिक स्तर उकास्नकालागि उपयोग गर्न सुझाव दिएका हुन् । राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठले पारदर्शी तरिकाले गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न सुझाव दिए । ‘हरेक ठाउँमा पारदर्शीताको आवश्यकता छ,’ श्रेष्ठले भने, ‘गरिबको नाम भँज्याएर कार्यक्रम चलाउनु हुँदैन ।’
नेकपा माओबादी क्रान्तीकारीका सदस्य रुद्र राईले गरिबको नाममा सञ्चालन हुने कतिपय कार्यक्रमले गरिबी निवरण गर्नेमा आशंका उव्जाएको बताए । ‘दातृ निकायको अनुदानलाई गरिबको हितमा उपयोग गर्नुप¥यो,’ जिल्ला सदस्य राईले, ‘गरिबको नाममा आफु मोटाउने कामको कल्पनै गर्नु भएन ।’ नेकपा माओबादी केन्द्रका सदस्य होमकाजी आचार्यले गरिबी निवारण कार्यक्रम अन्तरगत बिभिन्न समुहले जम्मा गरेको घुम्ती कोषलाई शहकारीको रुप दिन सुझाव दिए ।
खोटाङमा बालसेवा समाज, जनसेवा समाज, हलेसी बिकास मञ्च, हिमाली क्ल्व, नवकिरण सेवा समाज र सगरमाथा तरुण जनजागृति क्ल्वले जिल्लाका ३८ गाबिसमा गरिबी निवारण कार्यक्रम सञ्चालन गर्दैआएका छन् ।
कार्यक्रममा गरिबी निवारण कार्यक्रमका साझेदार संस्थाहरुले खानेपानी, सिँचाई, बिद्युत, सडक र झोलुङ्गे पुल गरी ६२ वटा भौतिक पुर्वाधारका काम सम्पन्न गरिएको, २८२ वटा आयमुलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएको छ । संयोजक जिबिसको बैठक हलमा आईतबार आयोजित कार्यक्रममा साझेदार संस्था बालसेवाका गरिबी निवारण कार्यक्रम संयोजक नन्दलाल गिरीले कृषि, पशुपालन, उद्योग, खुद्रा पसल, फर्नीचर, इलेक्ट्रोनिक्स लगायतका व्यवसायकालागि १२ करोड ३८ लाख ४५ हजार ९३० रुपैयाँको घुम्ती कोष परिचालन भइरहेको बताए । कार्यक्रम हलेसी बिकास मञ्चकी मनिषा राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।