खोटाङ ७ भदौ । चट्याङका कारण खोटाङको रुपाकोट एफएमको प्रशारण बन्द भएको छ । चट्याङले सदरमुकाम दिक्तेलको मुढेमा रहेको एफएमको अनलाईन यूपिएस, १५ थान व्याकअप व्यट्री, अनलाईन डिभाईस, ल्यापटप, स्टेप्लाईजर लगायतका उपकरणमा क्षती पुग्दा एफएमको प्रशारण ठप्प भएको हो ।
आईतबार दिउँसो परेको चट्याङले उपकरण काम नै नलाग्ने गरी बिग्रिएपछि प्रशारण बन्द भएको रेडियोको स्टेशन मेनेजर सुर्य तामाङले बताए । मंगलबार जिल्ला प्रहरी कार्यालयले स्थानीयको रोहबरमा २ लाख ७१ हजारको उपकरण नष्ट भएको घट्ना मुचुल्का उठाएको छ ।
नयाँ उपकरण जडान नगरेसम्मका लागि एफएमको प्रशारण बन्द रहने स्टेशन जेनेजर तामाङले जनाए । २०६४ साल बैसाख–१ गतेबाट प्रशारण सुरु गरेको एफएमको प्रशारणमा चट्याङका कारण ठूलो क्षती पुगेको यो तेश्रो पटक हो । हरेक वर्ष चट्याङले एफएमलाई असर पु¥याउने भएपनि यसअघि २०७१ साल चैत्र–२२ गते र २०६६ साल माघमा पनि महिनौँ प्रशारण बन्द हुनेगरी चट्याङले क्षती पु¥याएको थियो । ‘चट्याङका कारण सामान्य क्षती त हरेक वर्ष हुने गरेको छ,’ तामाङले भने, ‘महिनौंसम्म प्रशारण बन्द गर्नुपर्ने अवस्था आएको यो तेश्रो पटक हो ।’
यस्तै, २०७१ साल चैत्रको चट्याङले शुन्यमा झारेको हलेसी एफएमले गत साउन–१८ गतेबाट प्रशारणलाई निरन्तरता दिएको छ । त्यसभन्दा अघि २०६६ साल माघमा परेको चट्याङले हलेसी एफएमको उपकरणमा क्षती पुग्नुका साथै एक जना प्राबिधिक समेत घाईते भएका थिए । उसबेला रेडियोको प्रशारण झण्डै अढाई वर्ष रोकिएको थियो । यसपल्ट भने बिग्रिएको ट्रान्समिटर अघिल्लो दिन नै मर्मतका लागि काठमाण्डौं पठाइएकाले चट्याङले क्षती नगरेको स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए ।