खोटाङ, ८ भदौ । प्रहरीले जिल्लाको पश्चिमी क्षेत्रका स्थानीयले अवैधरुपमा गरेका गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ । पश्चिमी क्षेत्रका स्थानीयले गत वर्षहरुमा जस्तै यस वर्ष पनि अवैध जाँगा खेती गरेको जानकारी आएपछि नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।
गाँजा खेती नष्ट गर्ने प्रहरीको विशेष अभियान पश्चिमी क्षेत्रमा पर्ने दुर्छिम, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, डिकुवा, धितुङ र मङ्गलटारमा सञ्चालन गरिएको जनाइएको छ । हप्ता दिनदेखि सुरु गरिएको गाँजा खेती नष्ट गर्ने अभियान अन्तरगत अहिलेसम्म ९६ रोपनी भन्दा बढीमा लगाइएको नष्ट गरिसकिएको प्रनाउ माझीले जानकारी दिए ।
अभियानका लागि इलाका प्रहरी हलेसीका प्रहरी नायब निरीक्षक भीम बस्नेतको नेतृत्वमा टोली परिचालन गरिएको जनाइएको छ । उक्त टोलीले नसकेको खण्डमा जिल्लाबाट टोली परिचालन गरिने प्रनाउ माझीको भनाइ छ ।
अवैध रुपमा गाँजा खेती गर्दै आएका पश्चिमी क्षेत्रका स्थानीयले यसअघि प्रहरीलाई घुस खुवाएर बिक्रीबितरण गर्ने गरेको स्रोतले जनाएको छ । स्रोतका अनुसार यस वर्ष पनि प्रहरीलाई घुस खुवाउन गाँजा खेती गर्ने स्थानीयले प्रत्येक घरबाट रकम संकलन गरेको बुझिएको छ । 
तराईसँगको सिमा जोडिएको पश्चिमी क्षेत्रमा गाँजा खेती गर्न व्यवसायीले खेती गर्ने समयअगावै पेश्की दिने गरेको पाइएको छ । प्रति केजी पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने गाँजा खेतीका लागि व्यवसायीले ५० हजारदेखि एक लाखसम्म पेश्की दिने गरेको पाइएको छ ।
पश्चिमी क्षेत्रमा पेश्की लिएर गाँजा खेती गर्ने प्रचलन वर्षौदेखि हुँदै आएको स्थानीयको भनाइ छ । सुख्खाग्रस्त क्षेत्र मानिएको पश्चिमी क्षेत्रमा अन्यबाली प्रयाप्त उत्पादन नहुने भएपछि स्थानीयले गाँजा खेती गरेका हुन् । 
पश्चिमी क्षेत्रमा उत्पादन हुने गाँजा छिमेकी जिल्ला उदयपुर हुँदै अन्यत्र निर्यात हुने गरेको छ । वर्षेनी अरबौंको गाँजा बिक्री गर्ने पश्चिमी क्षेत्रका स्थानीयले यस वर्ष लगाएको गाँजा खेती प्रहरीले बिरुवामै नष्ट गर्न सुरु गरेको हो ।