खोटाङ १५ भदौ 
खोटाङमा सुनौला हजार दिन कार्यक्रमका कोचहरुले ६ महिनादेखि तलब नपाएको खुल्न आएको छ । गाउँ–गाउँमा डुलेर सुनौला हजार कार्यक्रम सञ्चालन गर्दै आएका कोचहरुले गत माघ यता तलब नपाएको गुनासो गरेका छन् । 
सेवा गरेवापत मासिक १० हजारका दरले पाउनुपर्ने तलब ६ महिना बित्दा समेत नपाएको सुनौला हजार कार्यक्रमका कोचका रुपमा कार्यरत कर्मचारीहरुको भनाई छ । गाविसमा बसेर वडा नागरिक मञ्च र सामाजिक परिचालकको सहयोग र समन्वयमा सय दिने लक्ष्य टोली गठन गर्ने, छनौट गरेको लक्ष्य प्राप्तीका लागि प्रस्ताव र बजेट तयार गर्न टोलीलाई सहयोग गर्ने लगायतका काम गर्दै आएका कोच लामो समयसम्म तलबबाट बञ्चित छन् । संघीय तथा स्थानिय विकास मन्त्रालय अन्तर्गत सञ्चालित यो कार्यक्रममा जिल्लाका १९ गाविसमा एक एकका दरले कोच अर्थात स्वयम् सेवक रहेका छन् ।
उनीहरुले व्यक्तिगत र पारिवारिक कामलाई भन्दा बढि प्राथमिकता दिएर सुनौला हजार दिनको काम गरेपनि तलब नपाएको गुनासो गरेको छ । कार्यक्रम सुरु भए यता कुनैबेला ८÷९ महिनासम्म तलव बिना काम गरेको तितो अनुभव कोचहरुसँग छ । 
जीवनको पहिलो हजार दिनमा अवलम्बन गर्नुपर्ने उपायहरुका बिषयमा जानकारी दिन, मातृशिशु पोषणको स्थितिमा सुधार ल्याउन, खाद्य सुरक्षा सुनिश्चित गर्न, सरसफाई सम्बन्धी सेवामा सर्वसाधारणको पहुँच बृद्धि गर्न, दीर्घ कुपोषणको समस्या समाधान गरी पोषणको स्थितिमा सुधार ल्याउन लगायतका कामकालागि जिल्लामा सुनौला हजार कार्यक्रम सुरु गरिएको हो । खोटाङको १९ गाविसमा सुनौला हजार कार्यक्रम सञ्चालन भइरहेको छ । सुनौला हजार कार्यक्रमका जिल्ला संयोजक मोहनराज निरौला, फोकलपर्सन दुर्गाबहादुर राई लगायतको उपस्थितिमा गत हप्ता दिनअघि जिबिसमा भएको बैठकमा तलब नपाएको विषयमा कोचले आवाज उठाएका थिए । कोच र सुपरभाईजरले चौमासिकरुपमा पाउनुपर्ने तलब पहिल्यैदेखि ढिला आउने गरेको सुनौला हजार दिन कार्यक्रमका फोकलपर्सन राईले बताए ।