खोटाङ, भदौ १५ । खोटाङमा आयोजित कार्यक्रममा सहभागीहरुले पुस्तकालय सञ्चालनलाई दिगो बनाउनकालागि व्यवस्थापन तथा अनुगमन गर्ने छुट्टै निकायको आवश्यकता औंल्याएका छन् ।
९ औं पुस्तकालय दिवसको अवशरमा बुधबार आयोजित सप्ताहव्यापी कार्यक्रम समापन तथा पुरस्कार वितरण कार्यक्रममा सहभागीहरुले पुस्तकालयलाई दिगो बनाउँदै पठन संस्कारको बिकासकालागि अलग्गै किसिमको कार्यक्रम बिकास र कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । प्राध्यपक हिराकुमार राई, शिक्षक टंक कट्वाल, महिला एकता अध्ययन केन्द्रकी सदस्य रामकुमारी राई लगायतका बक्ताले पुस्तकालयलाई रुचिपूर्ण र आवश्यकतामुखी सामग्रीद्धारा सुसज्जित बनाउनुपर्ने बताएका छन् ।
निबन्ध लेखन प्रतियोगीतामा दोश्रो स्थान प्राप्त गरेकी छात्रा मनिता राईलाई पुरस्कार प्रदान गर्दै जिल्ला न्यायधिस शान्तीप्रसाद आचार्य र प्रजिअ चन्द्रबहादुर कार्की । |
वक्ताहरुले पुस्तकालय स्थापना र व्यवस्थापनका लागि सरकारबाट नियमित बजेटको व्यवस्था हुनुपर्ने, पुस्तकालय सञ्चालन गर्ने दक्ष जनशक्तीको व्यवस्था गर्नुपर्ने, पुस्तकालयलाई आधुनिक सूचना र सञ्चार प्रविधियुक्त बनाइनुपर्ने, स्थानीय तहले आफ्नो आयको निश्चित प्रतिशत पुस्तकालयका लागि छुट्ट्याउने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला शिक्षा कार्यालयले दिक्तेल इंलिस बोर्डिङ स्कुलको प्रायोजनमा जिल्लामै पहिलोपल्ट पुस्तकालय दिवस मनाएको हो । निमित्त जिल्ला शिक्षा अधिकारी ठाकुरप्रसाद दाहालले पुस्तकालयको बिषयमा कार्यक्रम प्रस्तुत गरेपछि भएको अन्तरक्रीयामा सहभागीहरुले जिल्लाका माबिमा कम्प्यूटर र ईन्टरनेटको व्यवस्था गरेर ई–लाइब्रेरीको अवधारणा ल्याइए पनि कार्यान्वयन हुन नसकेको भन्दै आवाज उठाएका छन् । पुस्तकालय सञ्चालकहरुले भने पढ्ने मान्छे नपाउँदा पुस्तकालय ग्राहक विहिन बनिरहेको गुनासो गरेका छन् ।
कार्यक्रममा पुस्तकालय दिवसको अवशरमा आयोजित निबन्ध लेखन प्रतियोगीताका बिजेता छात्र÷छात्रालाई पुरस्कार वितरण गरिएको छ । भदौ–१० गते आयोजित निबन्ध लेखन प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने दिक्तेल इंलिस बोर्डिङ स्कुल कक्षा १० का छात्र राजेन्द्र आचार्य, दोश्रो स्थान प्राप्त गर्ने सरस्वती उच्च माबि कक्षा १० की छात्रा मनिता राई, तेश्रो स्थान प्राप्त दिक्तेल इंलिस बोर्डिङ स्कुल कक्षा १० की छात्रा निशा राई र शान्त्वना स्थान प्राप्त माउण्ट एभरेष्ट बोर्डिङ स्कुल कक्षा ९ का छात्र प्रज्वल राईलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ । बिजेता छात्र/छात्रालाई जिल्ला न्यायधिस शान्तीप्रसाद आचार्य र प्रजिअ चन्द्रबहादुर कार्कीले क्रमशः नगद ३ हजार, २ हजार १ हजार र ५ सयका साथमा प्रमाणपत्र प्रदान गरेका थिए ।