खोटाङ १७ भदौ । खोटाङमा स्वास्थ्यको लागि उपयोगी पपिनो फलको ब्यवसायिक खेति शुरु गरिएको छ । जिल्लामा हालै मात्र सुगर, उच्च रक्तचाप लगायतका रोगहरुका लागि औषधिय गुण बोक्ने पेपिनो खेतिको ब्यवसायिक खेति शुरु गरिएको हो ।
बिशेषगरी युरोपियन तथा दक्षिण अफ्रिकन राष्ट्रबाट आएको यो फल जिल्लाको दिक्तेल नगरपालिकास्थित झिसेपु अर्गानिक कृषि फार्मले ब्यवसायिक रुपमा उत्पादन शुरु गरेको प्रोपाईटर धर्मराज राईले जानकारी दिनुभयो । राईका अनुसार ५ महिना अघि काठमाण्डौंबाट प्रति गोटा एक सय रुपैंयाँका दरले बिरुवा खरिद गरी २ सय बढी बिरुवाबाट हालैबाट उत्पादन शुरु गरिएको हो । समुन्द्री सतहदेखि ३ हजार मिटरसम्मको उचाईमा एक सिजनमा प्रतिबोट ५ केजीसम्म उत्पादन गर्न सकिने पपिनोमिलनको बजार मुल्य ५ सयदेखि ८ सयसम्म रहेको जनाईएको छ । यसको ब्यवसायिक खेति नेपालमा करिब ५–६ बर्षअघि काठमाण्डौ आसपासबाट शुरु गरिएको कृषकहरु बताउँछन् ।
जिल्लाको हावापानीमा राम्रै उत्पादन हुने औषधीय गुण भएको पपिनोलाई ब्यवसायिक रुपमा उत्पादन गर्न सकिने युवा कृषक धर्मराजको भनाई छ ।
पपिनोमिलनसम्बन्धी बिभिनन किताब तथा पत्रपत्रिकाहरुमा अध्ययन गरिरहेको र औषधीय गुण रहेको पढिएको राईले बताउनुभयो । झिसेपु अर्गानिक कृषि फार्मको सञ्चालक राईले ब्यवासायिक रुपमा स्ट्रवरी, एबोकार्डो, गोलभेडा, अनार, अलैंचीलगाएतका खेतिबाट आम्दानी लिईरहनुभएको छ ।