खोटाङ, २० भदौ । शल्यक्रियामार्फत गर्भपतन गराउने क्रममा ज्यान गुमाएकी महिलाको आफन्तले दुई दिनपछि मृतकको शव जिम्मा लिएका छन् । गर्भपतन गराउने क्रममा चिकित्सकको लापरवाहीले ज्यान गुमाएकी धितुङ–७ की ३९ वर्षीया टलकुमारी राईको आफन्तले सोमबार साँझ शव जिम्मा लिएका हुन् । 
मृतक परिवारलाई राहतस्वरुप पाँच लाख दिनका लागि स्वास्थ्य मन्त्रालय समक्ष माग गर्ने, मृतकको दाहसंस्कार र काजक्रिया गर्न अस्पतालको तर्फबाट तत्काल ४० हजार र १५ दिनभित्र ६० हजार उपलब्ध गराउने, मृतक परिवारलाई रोजगारीका लागि सरकारी तथा गैंरसरकारी कार्यालयमा पहल गर्ने, आश्रित बालबालिकाको शिक्षादिक्षाका लागि व्यवस्था गर्ने, प्राविधिक शिक्षा अध्ययन गर्ने अवस्थामा सिफारिस गर्ने लगायतमा सहमती भएपछि शव जिम्मा लिइएको मृतकका दाजु ज्ञानु सेरालुङले जानकारी दिनुभयो ।
 मृतकका परिवारले राखेको मागलाई सम्बोधन गर्दै अस्पतालले दिने एक लाखमध्ये तत्कालका लागि ४० हजार लिएर पीडितले शव जिम्मा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । 
मृतकका आफन्तले दोषी चिकिसकलाई कारबाही गर्नुपर्ने, छानविन समिति गठन गरेर घटनाको सत्यतथ्य पत्ता लगाइनुपर्ने, मृतक परिवारलाई क्षतिपुर्तीको व्यवस्था गर्नुपर्ने, आश्रित बालबालिकाको शिक्षादिक्षा र रोजगारीको ग्यारेन्टी भएपछि मात्र शव बुझ्ने शर्त राखेर आन्दोलन सुरु गरेका थिए । अस्पतालका मेडिकल अधिकृत डा. सन्तोष साहले शल्यक्रिया गरेर गर्भपतन गरेपछि सिकिस्त बिरामी बनेकी टलकुमारीको हवाईजहाजबाट काठमाडौं लैजान खानीडाँडा विमानस्थल लैजानेक्रममै आइतबार दिउसो बाटैमा मृत्यु भएको थियो । 
पाँच छोरी र दुई छोरा भएपछि टलकुमारी श्रीमान चन्द्र किरातीसँग तीन महिनाको गर्भपतन गराउन भदौ–१६ गते जिल्ला अस्पताल खोटाङ आएकी थिइन् । अस्पतालका चिकित्सकहरुकै सल्लाहमा शल्यक्रियामार्फत गर्भपतन गराएकी टलकुमारीको गर्भपतन गराउनेक्रममा पाठेघरमा प्वाल परेपछि थप उपचार नपाउँदा मृत्यु भएको हो ।
शल्यक्रिया गरे लगत्तै पेट फुल्ने, बान्ता हुने, स्वासप्रस्वासमा समस्या देखिने, खाना खान नहुने, दिसापिसाब रोकिने, नाकबाट रगत मिसिएको पानी निस्कने लगायतका समस्या देखिएपछि उनको मृत्यु भएको श्रीमान चन्द्र किरातको भनाइ छ । “सक्नुहुन्न भने नगर्नुस् भनेर हामीले डाक्टरलाई भनेकै हो ।” श्रीमतीसँगै अस्पताल आउनुभएका किरातले भन्नुभयो, “जबरजस्ती हप्काउँदै गर्भपतन गरिदिएर श्रीमतीको ज्यानै लियो ।”
सन्तानको रहर पुगेपछि गर्भपतनकाक्रममा सिकिस्त बनेपछि टलकुमारीलाई शुक्रबार साँझ ५ बजे जिल्ला अस्पतालले रेफर गरेको थियो । खराब मौषमका कारण शनिबार खानीडाँडा विमानस्थलबाट काठमाडौं लैजाने प्रयास असफल भएपछि उनलाई जिल्ला अस्पतालमै ल्याएर राखिएको थियो ।