खोटाङ, २१ भदौ । सडक कालोपत्रे गर्ने कम्पनीको गाडी दुर्घटना हुँदा खोटाङमा चार जना घाइते भएका छन् ।
दिक्तेलबाट सामान लिएर नेर्पातर्फ जाँदै गरेको बा ९ च ७७१८ नम्बरको गाडी सोमबार बेलुका दिक्तेलस्थित रत्नपार्कमा दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् ।
दिक्तेल नगरपालिका–१ स्थित रत्नपार्कको उक्कालोमा ब्रेक फेल भएर दुर्घटना हुँदा चालक सुर्य तामाङ, कम्पनीका लेखापाल प्रदिप खड्का, भान्से भीमबहादुर भुजेल र क्रसर अफ्रेटर खड्गबहादुर आले घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो । घाइते सबैको अहिले जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ ।
उनीहरुको टाउको, हातखुट्टा तथा शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
सडकमा हिँडिरहेको कुकुरलाई छल्लेर गाडी अगाडि बढाउन खोज्दा ब्रेक फेल भएर दुर्घटना भएको चालक तामाङको भनाइ छ । रत्नपार्कमा यसअघि पनि पटकपटक दुर्घटना हुने गरेको थियो ।
पाँच जना यात्रु र कम्पनीको सामान लिएर हिँडेको गाडी सडकबाट करिब २० फिट तल खसेको छ । घाइते सबैको गाडी भित्रैबाट प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।
गाडीमा सवार एक जना भने सकुसल भेटिएका छन् । उनी गाडी पल्टिँदा उछिट्टिएर तल झरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दिक्तेल–चखेवा सडक कालोपत्रेको काम गरिरेको शेर्पा कन्ट्रक्न प्रालिको गाडी दुर्घटना भएको हो । गोल्डेन गुड प्रालिले करिब एक अर्बको सम्झौतामा ठेक्का लिएको सडक कालोपत्रेको काम भइरहेको छ ।