खोटाङ २६ भदौ
आप्रवासी हकहित संरक्षण केन्द्र खोटाङले बैदेसिक रोजगार सम्बन्धी ‘फ्रि–भिसा फ्रि–टिकट’को प्रभावकारी कार्यान्वयनको माग गरेको छ ।

नेपाली कामदारलाई बैदेसिक रोजगारीमा पठाउनेक्रममा स्वयं नेपाल सरकारले गरेको ‘फ्रि–भिसा फ्रि–टिकट’ सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयनको माग गर्दै आप्रबासी हकहित संरक्षण केन्द्रले आईतबार प्रधानमन्त्री तथा श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 
नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले २०७२ साल असार–२१ गतेदेखि लागू हुनेगरी न्यूनतम लागतमै खाडी राष्ट्र तथा मलेसिया जान पाउने निर्णय गरेपनि हालसम्म त्यसको कार्यान्वयन नभएको भन्दै आप्रवासी हकहित संरक्षण केन्द्रले आपत्ती जनाएको छ । आप्रबासी केन्द्रले ‘फ्रि–भिसा फ्रि–टिकट’ सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयन तथा शुन्य लागत सम्बन्धी व्यवस्थाको सुरुवातकालागि थप नीतिगत व्यवस्था र सहभागीतामूलक अनुगमन प्रणालीको बिकासमा सरकारको ध्यानाकर्षण गराएको छ । 
न्यूनतम लागतमै खाडी राष्ट्र« तथा मलेसिया जान पाउने श्रम तथा रोजगार मन्त्रालयको पछिल्लो निर्णय हालसम्म कार्यान्वयन नभएको भन्दै आप्रवासी हकहित संरक्षण केन्द्रले निमित्त प्रमुख जिल्ला अधिकारी दिनेश कुमालमार्फत प्रधानमन्त्री र श्रम तथा रोजगारमन्त्री समक्ष ज्ञापनपत्र पठाएको हो । श्रम तथा रोजगार मन्त्रालयको निर्णय विपरित अझैपनि बैदेसिक रोजगार व्यवसायी र तिनका दलालहरुले बिदेश जाने कामदारहरुलाई पहिलाजस्तै नै ठगी गरिरहेकाले त्यसमा रोक लगाउन ध्यानाकर्षण गराइएको आप्रवासी हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष चित्रकुमार राईले बताए ।