भदौ ३० । खोटाङ एकता सेवा समाज खोटाङले सहयोग स्वरुप जिल्ला अस्पताल खोटाङलाई दिइएको भिडियो एक्स–रे मेसिन लिलाम बिक्रीमा संलग्न दाषीलाई कारबाही माग गरेको छ । 
बैदेसिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा कार्यरत खोटाङे युवाबाट सन् २००७ मा प्राप्त भएको भिडियो एक्स–रे मेसिन अस्पतालले जानकारी नै नदिइ लिलाम बिक्री गरेको खुलासा भएपछि समाजले दोषीमाथि कारबाही माग गरेको हो । विदेशमा पसिना काढेर अस्पताललाई दिइएको उपकरण समेत लिलाममा परेको भन्दै खोटाङ एकता सेवा समाजले बुधबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएर दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो । 
जिल्ला अस्पतालको ‘करोडौंको उपकरण कौडी’को भाउमा बिक्री गरेको खुलासा हुँदा समेत राजनैतिक दल, प्रशासन, सम्बन्धित निकायबाट मौन बसेर घट्नालाई सेलाउने प्रयास भइरहेकाले आवाज उठाउनु परेको खोटाङ एकता सेवा समाज खोटाङका कार्यबाहक अध्यक्ष सनमान खड्काले बताए । समाजले लिलाम बिक्रीमा परेका सामान सिल गरेर लिलामका बिषयमा छानबीन गरी कारबाही अघि बढाइनुपर्ने माग गरेको छ । अस्पतालका कर्मचारीमाथि मर्मत गरेर उपयोगमा ल्याउनुपर्नेमा कमाउने मनसायले ‘नाकमा अड्किएको मकैको गेडो झिक्ने चिम्टी’ समेत बाँकी नराखी न्यून मूल्यामा उपकरण लिलाम गरेको आरोप छ । जिल्ला अस्पतालले बिदेशबाट प्राप्त भएको उपकरण लिलाम गरेको थाहा पाएपछि असन्तुष्ट बनेका समाजले लिलाममा संलग्नलाई पक्राउ गरेर कारबाही प्रकृया अघि बढाउन प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएका छन् । 
दक्षिण कोरियामा रहेका समय खोटाङ एकता सेवा समाजका महासचिव निसान राईको संयोजनमा ३६ लाखको लागतमा खरिद गरेर एक थान भिडियो एक्स–रे मेसिन जिल्ला अस्पताललाई उपलव्ध गराइएको थियो । जिल्ला अस्पतालले गत फागुनमा दक्षिण कोरियाबाट प्राप्त भएका भिडियो एक्स–रे मेसिन सहित ११२ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएको हो ।