काठमाडौं । खोटाङस्थित साकेला गाउँपालिकाका दलबहादुर खत्रीलाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । आफ्नो बैंक खाता बन्द भएपछि खुलाउन भनेर काठमाडौं आउँदा प्रहरीले उनलाई विप्लव समूहको क्रियाकलापमा संलग्नता देखिएको भन्दै मंगलबार पक्राउ गरेको हो । पक्राउपछि उनलाई मंगलबार नै अदालतमा म्याद थप गरेको छ ।

खत्री अलैंची, बाँस लगायत वस्तुहरुको व्यापार गर्ने सामान्य गाउँका व्यापारी हुन् । उनका आफन्त पशुपति कठायतले खत्रीको बैंक खातामा पैसा जम्मा जाँदा पैसा जम्मा नभएपछि के भयो भनेर सोधेका थिए । त्यसपछि कठायत र खत्री दुवै दिक्तेलस्थित वाणिज्य बैंकको कार्यालयमा पुगेका थिए । बैंकले केन्द्रबाट नै खाता बन्द भएको जनाएपछि उनीहरु बैंक खाता खुलाउन काठमाडौं आएका थिए । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयमा जाँदा बैंकले संकास्पद कारोबार भएको भनेर ललितपुर प्रहरीले पत्र पठाएकाले खाता रोकिएको र प्रहरीको चिठी भएपछि मात्र बैंक खाता खुलाउन सकिने जनाएपछि उनीहरु आफैं ललितपुर महानगरीय प्रहरी परिसर पुगेका थिए । बैंक खाता खुलाईदिने निवेदन दिन अनुरोध गर्न ललितपुर प्रहरीमा पुग्दा प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले यसअघि विप्लव समूहका अर्थ विभागका सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जिव नेपाली ‘सुवर्ण’लाई पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार खत्रीको बैंक खातामा उनीहरुबाट करिब डेढ लाख रुपैयाँ जम्मा भएको र त्यो पैसा खत्रीले बैंकबाट झिकेर फेरि गाउँकै एक विप्लव समूहका नेतालाई बुझाएको आरोप लगाएको छ । सरकारद्धारा प्रतिबन्धित विप्लव समूहका व्यक्तिबाट खत्रीको बैंक खातामा पैसा जम्मा भएको पाएपछि प्रहरीले खत्रीको बैंक खाता तथा सम्पत्ति रोक्का गरेको पाइएको छ । प्रहरीले उनको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।