खोटाङ, २ असोज । पहिरोका कारण खोटाङको दिक्तेल–हलेसी ४२ किलोमिटर सडक अवरुद्ध बनेको छ । हलेसी र अर्खौले गाविसको बीचमा पर्ने नागीमा शनिबार राती पहिरो जाँदा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीका असई बस्नेतले बताए ।
हालसम्म कनिकुथी सञ्चालन हुँदैआएको सो सडकमा पहिरो थुप्रिएपछि पूर्णरुपमा बन्द भएको छ । सडकमा पहिरो खसेपछि दिक्तेलतिरबाट हलेसीतर्फ र हलेसीबाट दिक्तेलतिर कुनैपनि सवारी साधन नचलाइएको यातायात व्यवसायीले बताएका छन् ।
सडक अवरुद्ध हुँदा यात्रु पैदल यात्रा गर्न बाध्य बनेका छन् । वर्षाका कारण जेठ पहिलो सातादेखि बन्द रहेको सडक आंशिक सञ्चालनमा आएको दुई हप्ता नबित्दै पूर्णरुपमा बन्द भएको हो । पहिरोकै कारण अवरुद्ध भएको बिजुले–लामीडाँडा सडक भने मर्मत गरेर सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरीले जनाएको छ ।