खोटाङ, असोज ४ । खोटाङ सदरमुकाम दिक्तेलमा व्यवसायीक राँगा पालन गर्दैआएको कालिका कृषि सहकारी संस्थाले सार्वजनिक सुनुवाई गरेको छ ।
२०६९ सालमा स्थापना भएको सहकारीले व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट) अन्तरगत लिइएको रकमबाट सञ्चालन गरिएका कार्यक्रमको विषयमा मंगलबार सार्वजनिक सुनुवाई गरेको हो ।
प्याक्टबाट लिइएको ३ लाख ९९ हजार ६ सय र सहकारीको १ लाख १३ हजार ४ सय रुपैयाँको लगानीमा दुई वटा गोठमा १५ वटा राँगो पालन भइरहेको छ । मासु तथा बीउकालागि राँगो पालन सुरु गरिएको सहकारीका अध्यक्ष सुवास जोशीले बताए । प्याक्टको सहयोगमा गोठ निर्माण, घेराबारा, हिल्टेक खरिद, पाईप खरिद, डुड निर्माण, मेसिन खरिद लगायतका काम गरिएको सहकारीले जनाएको छ । राँगा पालनबाट ३० स्थानीय लाभान्बित छन् । अध्यक्ष जोशीले ६ हजारका खरिद गरिएको राँगा १५ महिनापछि ७० हजारसम्ममा बिक्री भइरहेको जानकारी दिए । जोशीले पशुबीमाका व्यवस्था नहुँदा किसान मारमा परेको उल्लेख गरे ।
कार्यक्रममा दलकातर्फबाट संघीय समाजबादी फोरमका कोषाध्यक्ष निर्मल राई, जिल्ला कृषि बिकास कार्यालयका नासु ध्रुब कार्की, पशुसेवा कार्यालयका प्रास गणेश आचार्य लगायतले बोलेका थिए । सार्वजनिक सुनुवाई लगत्तै सहकारीद्धारा सञ्चालित राँगा फर्म, बंगुर फर्म र कुखुरा फर्म अवलोकन गरिएको छ ।