खोटाङ, असोज ४ । खोटाङ एकता सेवा समाजले जिल्ला अस्पताल खोटाङबाट लिलाम बिक्री भएका उपकरण शिलबन्दीका बिषयमा प्रशासनको ध्यानाकर्षण गराएको छ ।
मर्मत गर्दा काम लाग्ने सयभन्दा बढि उपकरणलाई कौडीको दाममा लिलाम गरिएको जनगुनासो चुलिँदै गएपछि गत शुक्रबार भण्डारण गरिएकै ठाउँमा २५ किमिसका सामान सिलबन्दी गरेको प्रशासनलाई अन्य सामान समेत खोजी गरेर शिलबन्दी गर्न समाजले ध्यानाकर्षण गराएको हो । समाजका पदाधिकारीले मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर बाँकी ८७ प्रकारका उपकरण तथा सामानलाई समेत शिलबन्दी गरेर छानबिनलाई तिब्रता प्रदान गर्न प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको ध्यानाकर्षण गराएको छ ।
जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएको थियो । अन्य उपकरणहरुको खोजी र शिलबन्दीमा ढिलाई हुनसक्ने भएकाले प्रशासनलाई ध्यानाकर्षण गराइएको खोटाङ एकता सेवा समाजका कार्यबाहक अध्यक्ष सनमान खड्काले बताउनुभयो । अस्पताल बिकास समितिलाई जानकारी नै नगराई गत फागुनमै ‘करोडौंको उपकरणलाई कौडी’को भाउमा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाजले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण सिल गर्नकालागि प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको तेश्रो दिन दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरमा भेटिएका सामान सिलबन्दी गरिएको थियो ।
जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलेको हो । कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको अवस्थामा लिलाम गरिएको स्वयं सामान खरिदकर्ताहरुको भनाई छ । कतिपय उपकरणको परल मूल्या, हालको अनुमानित मूल्या समेत नतोकी लिलाम गरिएको पाइएको समाजका महासचिव निसान राईले बताउनुभयो । अस्पतालको उपकरण लिलामका बिषयमा अख्तियारले समेत चासो दिएको छ । सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ । अस्पतालका कर्मचारीले मर्मत गरेर उपयोगमा ल्याउनुपर्नेमा कमाउने मनसायले न्यून मूल्यमा उपकरण लिलाम गरेको स्थानीयवासीको आरोप छ ।
श्रोतका अनुशार लिलाममा गएका भनिएका कतिपय कम्प्यूटर कार्यालयकै कर्मचारीले राखेको छ । नयाँ कम्प्यूटरलाई एक थाउँमा थन्को लगाएर राख्ने र पछि पूरानो भएको भनेर लिलाममा पारिएको श्रोतको भनाई छ । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन समेत लिलाममा परेको छ । अन्य उपकरणहरु खोज्नेक्रम जारी रहेकाले शिलबन्दी हुन नसकेको प्रमुख जिल्ला अधिकारी कार्कीले बताउनुभयो । ‘अहिले लिलामका विषयमा अनुसन्धान भइरहेको छ,’ प्रजिअ कार्कीले भन्नुभयो, ‘केही समय लाग्न सक्छ, यतार्थ कुरा बाहिर आउने नै छ ।’
कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन–१६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ सूचना टाँस गरेर चैत्र–२ गते लिलाम बिक्री गरेको थियो । पूरानो भएको, खिया लागेको, टुटफुट भएको, बिग्रिएको र भाँचिएर मर्मत संभार हुन नसक्ने अवस्था पुगेका उपकरणहरु लिलाम बिक्री गरिएको अस्पतालले दाबी गरेको छ ।