खोटाङ, असोज १५ । आउँदै गरेको दशैंतिहार तथा छठको अवसरमा खोटाङमा सामुहिकरुपमा सद्भावको टिका लगाइएको छ । दशैं शुरु भएको दिन घटस्थापनाको अवशरमा नेकपा एमालेले शनिबार आयोजना गरेको कार्यक्रममा एक आपसमा शुभकामना आदान प्रदान गर्दै सामुहिकरुपमा सद्भावको टिका लगाइएको हो ।
जिल्लाका राजनैतिक दल, कार्यालय, संघसंस्था, सर्वसाधारणबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै चाडपर्वलाई शान्तिपूर्ण, फजुल खर्च र मदिरारहित बनाउन आव्हान स्वरुप सद्भावको टिका लगाइएको हो । कार्यक्रममा सुरुमा ज्येष्ठ नागरिक टंकप्रसाद आचार्यको हातबाट टिका थापेका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको हातबाट दलका नेता, प्रशासन तथा सुरक्षा निकायका प्रमुख, कर्मचारी, पेशागत संगठन, संघसंस्था तथा पत्रकारले सामुहिकरुपमा फूलटिका लगाएका छन् ।
भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिकारुपमा एमाले बैकल्पीक केन्द्रीय सदस्य राजन राई, बिशेष अतिथि प्रमुख जिल्ला अधिकारी कार्की, दलकातर्फबाट कांग्रेसका जिल्ला सदस्य देबराज पोखरेल, आधिकारिक ट्रेड युनियनका अध्यक्ष ध्रुब कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतले चाडपर्व मनाउने नाममा फजुल खर्च नगर्न र मदिराजन्य पदार्थको प्रयोग नगर्न आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी कार्कीले दशैंतिहारलाई शान्तिपूर्ण बनाउन बजारका पशल तथा वित्तिय संस्था रहेको क्षेत्रमा चौबिसै घण्टा वजार गस्ती, वित्तिय संस्थाको कार्यालयमा सुरक्षाकर्मी परिचालन, गाउँ–गाउँमा लामो तथा छोटो दुरीका गस्तीको व्यवस्था मिलाइएको बताए । ‘चाडबाडलाई लक्ष्यीत गरेर हामीले उच्च सुरक्षा सतर्कता अपनाएका छौँ,’ प्रजिअ कार्कीले भने, ‘चाडवाडलाई झै–झगडा रहित, शान्त र सुमधुर वाताबरणमा ढुक्ककासाथ मनाउन हाम्रो आग्रह छ ।’ सुरक्षा सचेतनाका लागि मूख्या–मूख्या बजारमा माईकिङ र पम्प्लेटिङका काम भइरहेको कार्कीले जानकारी दिए । कार्यक्रम एमाले उपसचिव कुमार आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।
एमालेले जिल्लामा दशैंतिहार तथा छठको अवशरमा प्रतेक वर्ष सद्भावकालागि शुभकामना आदान प्रदान कार्यक्रम गर्दै आएको छ ।