खोटाङ, असोज १९ । खोटाङमा बजार अनुगमनकाक्रममा जफत गरिएको म्याद नाघेका सामान नष्ट गरिएको छ । बजार अनुगमनकाक्रममा दिक्तेलबजारका खुद्रा तथा होलसेल पसलबाट जफत गरिएका म्याद नाघेका मिट मसला, तरकारी मसला, मःम मसला, बेसार पाउडर, ज्वानो, खुर्सानी पाउडर, बिस्कुट, चिया, ल्याक्टो, प्राउन क्रेकर लगायतका उपभोग्यबस्तु जलाएर नष्ट गरिएको हो । १४ वटा पसलबाट जफत गरिएको अखाद्यबस्तु बुधबार प्रशासनकै परिसरमा आगो लगाएर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । चाडपर्वका नाममा हुने कालोबजारी, मूल्य बृद्धि, म्याद नाघेका सामानको बिक्री लगायतका बिकृति नियन्त्रणकालागि मंगलबार प्रशासन, बाणिज्य संघ, कोलेनिका, नगरपालिका लगायतले संयुक्त बजार अनुगमन गरेको थियो । 
अनुगमनकाक्रममा कृष्ण ईन्टर प्राईजेजबाट १४० पोका मिट मसला, भावना होलसेलबाट १ पोका प्रगती तरकारी मसला, दाहाल किराना पशलबाट २ पोका मरिच पाउडर, १२ पोका मःम मसला र ११ पोका ताज चिया, भद्रकुमारी श्रेष्ठको पशलबाट २० प्याकेट मिट मसला, शैंजू किराना पशलबाट ४ पिस मःम मसला, भगवती जनरल सप्लायर्सबाट ४ पिस चाउमिन मसला, ७ पिस मःम मसला, ३९ पिस सेञ्चुरी मसला, १९ पोका बेसार पाउडर, २१ प्याकेट सानो बेसार पाउडर र १६ वटा मरी बिस्कुट, कठायत ट्रेड एण्ड सप्लायर्सबाट ३२ पिस सेञ्चुरी खुर्सानी पाउडर र १ बट्टा पप्स गम, रसिक एण्ड रोहन कोल्ड स्टोरबाट १ बट्टा सुमो ल्याक्टो जफत गरिएको अनुगमन समितिले जनाएको छ । यस्तै, प्रेरणा किराना पशलबाट ३ पिस प्राउन क्रेकर र १ बट्टा काजु चकलेट, रेश्मा एण्ड राम स्टोरबाट १० प्याकेट हिमाली चिया रङ, ८० प्याकेट प्रगती खुर्सानी पाउडर, ५ केजी टोकला चिया र ४ पिस प्राउनक्रेकर, गोर्खा स्टोरबाट १ प्याकेट मिट मसला, न्यू काभ्रे स्टोरबाट ६ बट्टा बबलगम, २ बट्टा बिग बल, १ बट्टा चकलेट र ४० पोका चाँदनी चिया, स्नेहा ट्रेडर्सबाट ३ पिस ज्याकपट बिस्कुट र सुमन किराना पसलबाट २० पोका ज्वानो जफत गरिएको थियो ।