खोटाङ, असोज ३० । खोटाङको पश्चिमी क्षेत्रमा भलिबल खेलको सुरुवात गर्ने संस्थापकलाई सम्मान गरिएको छ । करिब ३८ वर्षअघि तराईबाट डोकोमा भलिबल ल्याएर गाबिसमा भलिबल खेलको सुरुवात गर्ने च्यास्मीटार–५ का भेषबहादुर अधिकारीलाई सम्मान गरिएको हो । सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटार–४ दाल्फुको आयोजनामा आईतबार दाल्फुमा आयोजना गरिएको वडास्तरिय मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगीता उदघाटनको अवशरमा भलिबलका संस्थापक अधिकारीलाई सम्मान गरिएको हो । संस्थापक अधिकारीलाई प्रमुख अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका खोटाङ अध्यक्ष तुलसी तिलुङ खम्बूले दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका छन् ।
च्यास्मीटारमा पहिलोपल्ट भलिबल भित्र्याउने भेषबहादुर अधिकारीलाई सम्मान गर्दै खम्बुवान राष्ट्रिय मोर्चाका नेता तुलसी तिलुङ खम्बू (बायाँबाट दोश्रो) । |
अधिकारीले २०३५ सालमा जनकपुरबाट सिन्धुलीको गोदारसम्म ट्रकमा र गोदारबाट ढाकरमा बोकेर गाउँसम्म भलिबल, जाली र पम्प ल्याएर च्यास्मीटार, दुर्छिम, बडहरे, बाहुनीडाँडा र डिकुवामा भलिबल खेलको बिकास गरेका थिए । उनले भलिबल भित्र्याएर खेल्न सिकाएपछि सो क्षेत्रमा भलिबलको सुरुवात भएको थियो । उनले ब्याडमिन्टन, क्यारमबोर्ड लगायतका खेल समेत पहिलोपल्ट गाबिसमा भित्र्याएका थिए । गाबिसकै भलिबलका जन्मदाताकारुपमा अधिकारीलाई सम्मान गरिएको सिर्जनात्मक एकता युवा सेवा समाजका अध्यक्ष रसकुमार राईले बताए ।
समाजले च्यास्मीटार–४ दाल्फुको ८७ वर्षीय बृद्धा धनमायाँ राईलाई पनि सम्मान गरेको छ । ‘बृद्धबृद्धाको सम्मानको संस्कार’ बिकासकालागि ज्येष्ठ नागरिक राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।