खोटाङ, १७ कात्तिक । खोटाङको नेर्पामा सामुहिकपमा तिहारको भाईटिका लगाइएको छ । नेर्पा–५ स्थित भुलभुले सहकारी संस्थामा आवद्ध माईतीचेलीले आइतबार सामुहिकरुपमा भाईटिका लगाएर तिहारको खुसीयाली मनाएका छन् ।
सहकारीका पुरुष शेयर सदस्य माईती र महिला शेयर सदस्य चेली बनेर सामुहिक रुपमा तिहारको भाईटिका लगाइएको सहकारीका संस्थापक जलसेर राईले बताए । लामबद्ध बसेका ५२ जना माईतीलाई ४१ चेलीले जम छेपेर फूलमाला लगाइदिएर फूलमाला, मिठाई, फलफूल, मिठामिठा परिकार दिएका थिए ।
माईती बनेका दाजुभाईले पनि चेलीलाई गच्छे अनुशारका उपहार र दक्षिणा प्रदान गरे । तिहारको अवशरमा देउसी सुरु गर्नुपुर्व सहकारीले बिगत तीन वर्ष अघिदेखि गाउँका महिलालाई चेलीबेटी र पुरुषलाई माईती मानेर भाईटिका लगाउने प्रचलन सुरु गरेको हो । सामुहिकरुपमा हर्षोल्लासका साथ भाईटिका लगाएपछि नेर्पामा देउसीको सुरुवात गरिएको राईले जनाए । सामुहिक भाईटिका मनाउकालागि गाउँका चेलीबेटी कोसेली, फूलमाला सहित भेला भएका थिए । सामुहिकरुपमा भाईटिका लगाएका माईतीचेली अहिले देउसी खेलीरहेका छन् ।