खोटाङ, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) खोटाङ आउनुहुने भएपछि स्वागतका लागि सदरमुकाम दिक्तेल सिङ्गारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, स–शस्त्र प्रहरी, पार्टी कार्यकर्ता तथा उद्योग वाणिज्य सङ्घले दिक्तेलको विभिन्न चौकमा सरसफाइ गर्नुका साथै स्वागतद्धार बनाएका छन् ।
कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्ग निरीक्षण, कार्यालय प्रमुखलाई निर्देशन तथा पार्टी कार्यकर्ता भेटघाटका लागि मङ्गलबार बिहान पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड खोटाङ आउन लाग्नुभएको माओवादी खोटाङका सचिव तथा पूर्व सभाषद् दुर्गाजयन्ती राईले जानकारी दिनुभयो । सचिव राईका अनुसार प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टरमार्फत खोटाङ आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री खोटाङ आउनुहुने भएपछि जिल्लको सुरक्षा व्यवस्थासमेत बजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रजिअ कार्कीका अनुसार प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गरेर जिल्लाको विभिन्न ठाउँमा सोमबार देखिनै सुरक्षाकर्मी परिचालन गरिएको छ ।
हेलिकोप्टरमार्फत खोटाङ आउनुहुने प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले जिल्लाको कार्यालय प्रमुखलाई एक ठाउँमा राखेर निर्देशन दिनुहुने स्रोतले जनाएको छ । मङ्गलबार बिहान दश बजे खोटाङको सदरमुकाम दिक्तेल आउनुहुने प्रधानमन्त्री प्रचण्डले खानापछि कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको माओवादी खोटाङका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिनुभयो ।