खोटाङ, कार्तिक–२३ । भौतिक बिकासको अवस्था अनुगमन भ्रमणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) खोटाङ आइपुगेका छन् । मध्यपहाडी लोकमार्ग, जिल्लाको बिकास तथा सेवा प्रबाह लगायतको अवस्था निरिक्षण अवलोकनकाक्रममा प्रधानमन्धी प्रचण्ड केहीबेरअघि सदरमुकाम दिक्तेलमा आइपुगेका छन् । 
हेलीकोप्टरबाट दिक्तेल आइपुगेका प्रधानमन्त्री दाहाल अहिले जिबिस हलमा जिल्लाका सांसद, जिल्लास्थित राजनैतिक दलका नेता, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि लगायतबीचमा जिल्लाको बिकास निर्माण, सम्भावना, चुनौती, समाधान र समसामयीक बिषयमा छलफल तथा अन्तरक्रीया गर्दैछन् । छलफल बिहान ११ बजे सुरु भएको छ । राष्ट्रिय गान गाएपछि सुरु भएको कार्यक्रममा स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले खोटाङको समग्र बस्तुस्थितिका बिषयमा ‘ब्रिफिङ’ गरिरहेका छन् । 
कार्यक्रममा जिल्लाबासीले प्रधानमन्त्री समक्ष जिल्लाको समस्यका बिषयमा छुट्टाछुट्टै मागहरु लिखितरुपमा राख्ने प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । कार्यक्रम हलमै दाहाललाई जिल्लाका सबै राजनैतिक दल, उद्योग बाणिज्य संघले फूल माला र खादा ओढाएर स्वागत गरेका छन् । सोही कार्यक्रममार्फत प्रधानमन्त्री दाहालले सरकारी कार्यालय प्रमुखलाई सेवा प्रबाहका बिषयमा निर्देशन दिने छन् ।

सर्वपक्षीय छलफलपछि प्रधानमन्त्री दाहालले माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको माओबादी केन्द्र खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताईन् । खानासँगै प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा अंगसँग पनि छुट्टै बस्ने कार्यक्रम छ । पुर्वाधारको अवस्थाका बिषयमा अवलोकन गर्दै प्रधानमन्त्री दाहाल दिक्तेलबाट संखुवासभासम्म पुग्ने कार्यक्रम रहेको जनाइएको छ । पदमा बहाल रहेका प्रधानमन्त्री खोटाङ आएको यो तेश्रो पटक हो ।