खोटाङ, कार्तिक २५ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा सदरमुकाम दिक्तेलमा माबि स्तरिय छात्र फुटबल प्रतियोगीता सुरु भएको छ । विद्यालय स्तरबाटै फुटबलको व्यवसायीक बिकासका लागि एकेडेमीले व्यवसायी तथा शुभेच्छुकको प्रायोजनमा बिहिबारदेखि माबि स्तरिय छात्र फुटबल प्रतियोगीता सुरु गरेको हो । स्थानीय माटिकोरे खेलमैदानमा आयोजना गरिएको फुटबल प्रतियोगीताको उदघाटन खेलमा साकेला माबि रतन्छा र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेल बिजयी भएका छन् । 
दिक्तेलमा आयोजित माबि स्तरिय फुटबलमा बल नियन्त्रण गर्ने प्रयास गर्दै 
साकेला माबि रतन्छा (सेतो) र सितला माबि खाल्ले (निलो) का खेलाडी ।
स्थानीय माटिकोरे खेलमैदानमा बुधबार सुरु गरिएको खेलमा सितला माबि खाल्लेलाई (२–१) गोलले पछि पार्दै साकेलाले जित हाँसिल गरेको हो । यस्तै, हिमालय निमाबि सोल्मालाई (४–०) गोल अन्तरले पछि पार्दै माउण्ट एभरेष्ट बोर्डिङ स्कुल बिजयी भएको एकेडेमीका खेल संयोजक श्याम पौडेलले बताए । प्रतियोगीताका बिजेता टिमले नगद २० हजार, उपबिजेताले १५ हजार तथा फाइनलिस्ट दुई टिमले ५÷५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 
यस्तै, खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, हाइस्कोरर र अनुशासित टिमलाई पनि पुरस्कार प्रदान गरिने एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताए । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उद्घाटन गरेको प्रतियोगीतामा जिल्लाका ८ बिद्यालयले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगीता शनिबार समापन गर्ने आयोजकले जनाएको छ । ‘बिद्यालय फुटबल लगायतका खेलको आधार हो,’ एकेडेमीका अध्यक्ष शैंजूले भने, ‘यसको बिकासकालागि आधारबाटै प्रयास गर्नु जरुरी भएकाले माबि स्तरका छात्र फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।’ प्रतियोगीतालाई हरेक वर्ष निरन्तरता दिइने एकेडेमीले जनाएको छ ।