खोटाङ, २७ कात्तिक । आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङको अध्यक्षमा हात्तीराम राई चयन हुनुभएको छ । शनिबार साँझ सदरमुकाम दिक्तेलमा सम्पन्न दोश्रो अधिबेसनबाट राई जनजाती महासंघको अध्यक्षमा सर्बसम्मत चयन हुनुभएको हो ।
जिबिसको हलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले राईको अध्यक्षतामा १५ सदस्यीय आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गठन गरेको छ । महासंघका उपाध्यक्षमा कृष्ण गुरुङ, सचिवमा रबिन खम्बू, सहसचिवमा एलबी मगर र कोषाध्यक्षमा कृष्णकुमारी तामाङ चयन हुनुभएको छ । यस्तै, रबिन सुनुवार, नैनकला राई, तेम्बा शेर्पा, गोपाल श्रेष्ठ, उदिम चामलीङ, मदम तामाङ, पर्शु लिम्बू र शान्तीमायाँ मगर जनजाती महासंघको सदस्य छानिनु भएको छ । भुजेल र माझी समुदायका दुई जना प्रतिनिधि आईतबार बस्ने पहिलो बैठकले थप गर्ने महासंघले जनाएको छ ।
 यस्तै, सल्लाहकार पनि पहिलो बैठकले टुंगो लगाउने महासंघले जनाएको छ । अधिबेसन किरात राई यायोक्खाका केन्द्रीय सदस्य प्रश्नराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिबेसनको उदघाटनसत्रमा नेपाली कांग्रेसका महासमिति सदस्य बिष्णुकुमार राई, एमालेका जिल्ला उपसचिव कुमार आचार्य, नेकपा माओबादी केन्द्रका नेता ध्रुब बुढाथोकी, राप्रपा नेपालका अध्यक्ष जीवन श्रेष्ठ, संघीय समाजबादी फोरमका अध्यक्ष नबिन राई लगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै यायोक्खाका केन्द्रीय सदस्य प्रश्नराज राईले आदिबासीको हकहित स्थापित गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।