खोटाङ, ३ मंसिर । खोटाङको जिल्ला परिषद आगमी चैत्र १५ गते गर्ने तयारी गरिएको छ । गत वर्ष फागुन २७ गते परिषद गरेका जिल्ला विकास समितिले यस आर्थिक वर्ष दुई हप्ता पछि परिषद गर्ने निर्णय गरेको हो । 
सर्वदलीय बैठक राखेर परिषदको मिति निश्चित गरिएसँगै जिल्ला बिकास समितिले जिल्ला परिषदको तयारी तिब्र बनाएको छ । स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेका अनुसार मंसिर ४ गते श्रोत अनुगमन समितिको बैठक, मंसिर ५ गते पुर्वयोजना तर्जुमा बैठकको तयारी गरिएको छ । 
पुस मसान्तभित्रमा जिल्लाका ७२ गाबिस र दिक्तेल नगरपालिकाको परिषद सम्पन्न गरेपछि माघ १७ गतेदेखि २६ गतेसम्म ईलाका स्तरिय योजना तर्जुमा समितिको बैठक, चैत्र २ गतेदेखि ६ गतेसम्म विषयगत योजना तर्जुमा समितिको बैठक र चैत्र ८ गते एकीकृत योजना तर्जुमा समितिको बैठक गर्ने जिबिसले जनाएको छ । चैत्र ९ गते जिल्ला बिकास समितिको बैठक गरेको ६ दिनपछि जिल्ला परिषद हुने स्थानीय बिकास अधिकारी पाण्डेले बताउनुभयो ।