खोटाङ, ३ मंसिर । प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले एकै साथ पाँच गाबिसमा घरदैलो अभियान चलाएको छ । 
सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलन गर्दै प्रहरी सेवालाई जनभावना अनूकुल बनाउनका लागि प्रहरी कार्यालयले हप्ता दिन लगाएर बराहपोखरी, चिसापानी, खोटाङबजार, सिमपानी र बुईपामा घरदैलो अभियान चलाएको हो । 
सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीसँगको सहकार्यमा संयुक्त टोली बनाएर ‘नागरिक सुनुवाई’ कार्यक्रम अन्तरगत दक्षिणी क्षेत्रका गाबिसका सर्वसाधारणलाई भेट गरेर गुनासो सुन्दै सुझाव संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 शान्ति, सुरक्षा, बिकास, सभ्य समाज निर्माणमा प्रहरीको भूमीकाका बिषयमा सुझाव लिन तथा गुनासो सुन्दै प्रहरीप्रतिको नकरात्मक धारणा परिवर्तनकालागि जनताको घरदैलो पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो । प्रहरीले यसअघि नुनथला, हलेसी र बाहुनीडाँडाको जयराममा नागरिक सुनुवाई गरेर गुनासो तथा सुझाव संकलन गरेको थियो ।